२०८२, चैत्र २५ गते

Apr 08 2026 | २०८२, चैत्र २५ गते

बहराइनका समकक्षी मुसलामसँग सभामुख घिमिरेको शिष्टाचार भेटवार्ता

सोमवार , फाल्गुण २९, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • मनामा, २९ फागुन ।  
    प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बहराइनका सभामुख अहमद बिन सलमान अल मुसलामसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १४६ औं महासभामा भाग लिन मनामामा रहेका सभामुख घिमिरेले बहराइनका सभामुख मुसलामसँग भेट गरेका हुन् । 

    सभामुख घिमिरेले आईपीयुको १४६ औं महासभा सफलतापूर्वक सञ्चालन गरेकोमा बहराइनको संसद्, बहराइन सरकार र सभामुखलाई धन्यवाद दिए । उनले नेपाली नागरिकलाई विभिन्न पेशामा रोजगारी प्रदान गरेकोमा बहराइन सरकारलाई धन्यवाद व्यक्त गरे ।

    ‘आशा छ, आगामी दिनमा बहराइनले सूचना प्रविधि र मेडिकल क्षेत्रका दक्ष नागरिकलाई पनि रोजगारको व्यवस्था गर्नेछ,’ उनको भनाइ थियो । सभामुख घिमिरेले नेपाल–बहराइन सिधा उडान हवाइ उडान स्थापित गर्न, नेपालमा जलविद्युत् लगायतका क्षेत्रमा लगानी गर्न र बहराइनको दूतावास काठमाडौंमा खोल्ने वातावरण बनाउन ध्यानाकर्षण गराए ।

    सभामुख घिमिरेले नेपालका आँखाका डाक्टर सन्दुक रुइतलाई हालै बहराइन सरकारले १० लाख अमेरिकी डलरको इशा अवार्ड प्रदान गरेकोमा पनि धन्यवाद दिए ।  जवाफमा बहराइनका सभामुख मुसलामले आफ्नो मुलुकमा नेपालीहरुले इमान्दारितापूर्वक काम गरेकोमा खुसी व्यक्त गरेका थिए । उनले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन उच्चस्तरीय भ्रमण लगायतका क्रियाकलापमा जोड दिए ।