
सोमवार , फाल्गुण २९, २०७९
तिलोत्तमा, २९ फागुन ।
बेरोजगार युवायुवतीलाई रोजगारीमा जोड्ने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ‘रोजगार सूचना मेला’ आयोजना गर्न लागेको छ । युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन भइरहेका कारण जनशक्ति अभावको समस्या रहेको र बेरोजगार युवायुवतीहरुलाई विदेश पलायन हुनबाट रोकेर स्वदेशमै रोजगार सृजना गर्ने र औद्योगिक तथा व्यवसायिक क्षेत्रमा भएको जनशक्ति अभावलाई पूर्ति गर्ने उद्देश्यले नगरपालिकाले चैत ४ गते १ दिने रोजगार सूचना मेला आयोजना गर्न लागेको हो ।
नगरपालिकाले तिलोत्तमा नगर क्षेत्रमा रहेका रोजगारदाता तथा व्यवसायिक संघ–संस्थाहरुसँग सहकार्य गरेर यो मेला आयोजना गर्न लागेको हो ।
रोजगार सूचना मेलाकै तयारीकै सिलसिलामा नगरपालिकाले तिलोत्तमा उद्योग वाणिज्य संघमा आबद्ध उद्योगी व्यवसायीहरुसँग आइतबार गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि उद्योगी ब्यवसायीहरुले रोजगार सूचना मेलालाई सफल पार्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा तिलोत्तमा उद्योग वणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव) ले अहिलेको परिस्थितिमा उद्योगी व्यवसायीले रोजगार दिन सक्ने अवस्था नभए पनि नगरपालिका र उद्योग वाणिज्य संघको नङ र मासुको जस्तै सम्बन्ध भएकाले रोजगार मेलालाई सफल पार्ने दायित्व संघमा आबद्ध उद्योगी व्यवसायीको भएको बताए ।
नगरपालिकाले रोजगारदाता संस्थाका रुपमा संघसँग सहकार्य गरेको भन्दै रोजगार मेलाले रोजगारीको अवसर सिर्जना गर्नुका साथै रोजगारदाताले दक्ष र सीपयुक्त जनशक्ति प्राप्त गर्ने वातावरण निर्माण गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष तथा रोजगार मेलाका संयोजक गणेश पाठकले तिलोत्तमा नगर क्षेत्रका बेरोजगार युवायुवतीलाई स्वदेशमै रोजगारी दिने नीतिअनुरुप रोजगार मेला आयोजना गर्न लागिएको बताए ।
रोजगार मेलाले तिलोत्तमा नगर क्षेत्रका उद्योग, कलकारखाना र अन्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने, सीप भएर पनि जागिर नपाएर विदेशिन बाध्य नागरिकलाई स्वदेशमै राख्ने वातावरण निर्माण गर्ने अपेक्षा गरिएको संयोजक पाठकले बताए ।
संयोजक पाठकका अनुसार रोजगार मेलामा विभिन्न रोजगारदाताका ४० बढी स्टल रहने र मेलामै विभिन्न सीप भएका व्यक्तिहरुलाई रोजगार दिलाइनेछ । मेलामा रहने स्टल नगरपालिकाले निर्माण गर्ने र मेलाका लागि कुनै शुल्क नलाग्ने संयोजक पाठकले बताए ।
मेलाका उपसंयोजक रवि सेन्चुरीले मेलामा सीपमूलक तालिमको अवसरहरुको जानकारी, वृत्ति परामर्शसम्बन्धी सेवा, सीपको प्रमाणीकरण, विभिन्न रोजगारीका अवसरका बारेमा जानकारी गराउनुका साथै रोजगारीका लागि सहजीकरण गर्ने बताए । मेलाकै माध्यमवाट बेरोजगार युवायुवतीलाई रोजगारीमा जोड्नका लागि सहजीकरण गर्ने अपेक्षा समेत गरिएको उनले बताए ।
संघका महासचिव राजकुमार पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा संघका सल्लाहकार चन्द्रमान श्रेष्ठ, कृष्णबहादुर गौतम, माधवलाल देवकोटा, उद्योग उपाध्यक्ष सुरज पंगेनी, संघका सदस्यहरु मधुसुदन घिमिरे, शालिकराम वस्ती, रुस्तम कँडेल, बसन्त रोका क्षेत्री, गणेश शर्मालगायतले बोल्दै अहिलेको अवस्थामा रोजगारी सिर्जना गर्न सकिने परिस्थिति नभए पनि रोजगार मेलाले रोजागरीको खोजीमा रहेका युवायुवती र रोजगारदातालाई जोड्न पुलको काम गर्ने बताए ।
उनीहरुले तिलोत्तमामा कति उद्योग व्यवसाय सञ्चालनमा छन्, कतिले रोजगारी पाएका छन्, कतिजना बेरोजगार छन्, कतिजना वैदेशिक रोजगारीमा गएका छन्, कतिजना फर्केका छन् भन्ने तथ्यांक नगरपालिकाले राख्नुपर्ने र आवश्यकता पर्दा युवाहरुले विदेशमा सिकेको सीपलाई स्वदेशमै प्रयोग गर्न सकिने हुनाले यस्तो तथ्यांक राख्न नगरपालिकालाई सुझाव दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij