
सोमवार , फाल्गुण २९, २०७९
भैरहवा, २९ फागुन ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले बिना भन्सार गैरकानूनी रुपमा भित्रिने सामानहरुमा रोक लगाउन माग गरेको छ । संघले सोमबार भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीका प्रमुख भन्सार अधिकृत मनिराम पौडेललाई ज्ञापनपत्र बुझाउँदै सबै मालवस्तुहरुको उचित रुपमा भन्सार गराउँदै आन्तरिक व्यापार व्यवसायको प्रवद्र्धनमा आवश्यक सहयोग गर्न माग गरेको हो ।
संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बेलहिया नाका हुँदै घरायसी प्रयोजनका लागि भन्दै लाखौं रुपैयाँका सामानहरु भित्रिने हँदा सुनौलीमा बढी व्यापार हुने र भैरहवा लगायत वरपरका बजार शुन्य अवस्था रहेको बताए । उनले स्वदेशी व्यवसायी निकै मर्कामा परेको गुनासो संघका सदस्य फर्महरुबाट आएकाले संघको गम्भिर ध्यानाकर्षण भएको बताए । उनले भने, ‘करौडौं लगानी गरी नियम कानून अनुसार कारोबार गर्ने भैरहवाको आर्थिक चलायमानमा समेत असर गरिरहेको छ ।’
उनले खुल्ला सीमा व्यवस्थित गर्नुपर्ने माग गरे । संघले उठाएका माग सम्बोधनका लागि सम्बन्धित निकायले तदारुकता नदेखाए उद्योगी व्यवसायीलाई साथ लिएर आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए । अध्यक्ष श्रेष्ठले उद्योगी व्यवसायीको समस्या संघले गम्भिरतापूर्वक लिएको बताए । उनले माग सम्बोधन नभएको अवस्थामा आन्दोलनका लागि तयार रहन उद्योगी व्यवसायीलाई आग्रह गरे ।
ज्ञापनपत्र बुझ्दै भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले उद्योगी व्यवसायीबाट सहकार्य र सूचनाको अपेक्षा गरेको बताए । उनले बिना भन्सार सामान लैजाने क्रियाकलापलाई निरुत्साहित गर्न भन्सार कार्यालय लागिपरेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij