
सोमवार , फाल्गुण २९, २०७९
भैरहवा, २९ फागुन ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले पदस्थापन गरेका छन् । आइतबार भैरहवामा आयोजित पदस्थापन समारोहमा प्रमुख निर्वाचन आयुक्त शिव प्रसाद गौडेलले नवननिर्वाचित अध्यक्ष ठाकुर कुमार श्रेष्ठलाई सपथ ग्रहण गराएका थिए । त्यस्तै अध्यक्ष ठाकुरले पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई सपथग्रहण गराएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले कुनै पनि पक्षको विरोध गर्नुभन्दा पनि सबैको जीत हुने गरी अघि बढ्नुपर्ने बताए । उनले उद्योगी व्यवसायीको सुझाव लिएर महासंघले निजी क्षेत्रको पक्षमा काम गर्दै आएको बताए । उनले खुल्ला सीमाका कारण यहाँका उद्योगी व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको गुनासो बढेकाले सीमा व्यवस्थित गर्न महासंघले पहल गर्ने बताए । उनले भने, ‘उद्योगी व्यवसायीलाई पलायन हुन नदिन सीमा व्यवस्थापनलाई ध्यान दिनुपर्छ । ’ वरिष्ठ उपाध्यक्ष ढकालले उद्योगी व्यवसायीलाई तीनै तहको सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।
लुम्बिनी प्रदेशसभा सदस्य हेमा बेल्बासे के.सी.ले सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीसँग हातेमालो गर्दै अघि बढ्ने बताइन् । उनले कृषिलाई प्राथमिकता दिदै जानुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘संघमार्फत महिलाका लागि सीपमूलक कार्यक्रम गरेर उहाँहरुलाई स्वरोजगार बनाउन सकिन्छ । ’
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले उद्योगी व्यवसायी मर्कामा परेको बताए । उनले बैंक तथा वित्तीय संस्थाले सस्तो ब्याजदरमा ऋण दिनुपर्नेमा जोड दिए । उनले भने, ‘सिद्धार्थ उद्योग वाणिज्य संघ उद्योगी व्यवसायी तथा नागरिकको साथ लिएर अघि बढेको छ ।’
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले भीष्म प्रसाद न्यौपानेको कार्यकालमा राम्रो काम भएको बताए । उनले नयाँ कार्यसमितिलाई कर्तव्यनिष्ठ भएर अघि बढ्न आग्रह गरे । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका नवनिर्वाचित अध्यक्ष ठाकुर कुमार श्रेष्ठले उद्योगी व्यवसायीका समस्या समाधानका निम्ति लागिपर्ने बताए । उनले उद्योग व्यवसायको विकासका लागि संघबाट विभिन्न कार्यक्रम अघि बढाउने बताए । उनले आफू र आफ्नो टीमलाई जिताउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले सबै एकआपसमा मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा ठाकुर कुमार श्रेष्ठ विजयी भएका थिए । संघको वरिष्ठ उपाध्यक्षमा नेत्र प्रसाद आचार्य, कर्पोरेट उपाध्यक्षमा रोहित कुमार अग्रवाल, वाणिज्य उपाध्यक्षमा गोविन्द ज्ञवाली, उद्योग उपाध्यक्षमा दिलिप कुमार कान्दु, महासचिवमा कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्षमा कमल प्रसाद मरासिनी, सचिवमा मंगल भण्डारी र सह–कोषाध्यक्षमा संजय बेरिवाल निर्वाचित भएका थिए ।
त्यसै गरी उद्योगतर्फ सदस्यहरुमा ओम जैसी, रमेश घिमिरे, रचना क्षेत्री, कमल ज्ञवाली र विष्णुमाया शर्मा पौडेल निर्वाचित भएका थिए ।
त्यस्तै वाणिज्यतर्फ सदस्यमा अर्जुन कार्की, प्रमोद रिजाल, विशाल जैसवाल, कृष्ण प्रसाद अधिकारी, विरेन्द्र ज्ञवाली, दिनेशमान अमात्य, अभिनव मयुर कसौधन, धर्मराज आचार्य, मीना पन्थी र विजय अधिकारी निर्वाचित गरेका थिए ।
त्यस्तै वस्तुगत सदस्यमा प्रितम रौनियार, कर्पोरेट सदस्यमा अर्पित कुमार अग्रवाल र विकास कुमार गोयनका तथा वाणिज्यतर्फ महिला सदस्यमा यमकला न्यौपाने र महिला उद्योग सदस्यमा पल्लवी न्यौपाने निर्वाचित भएका थिए ।
तीनजना कार्यसमिति सदस्यमा मनोनित
यसैबीच सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको कार्यसमिति तीन जना सदस्य मनोनित भएका छन् । सुनचाँदी व्यवसायी विमल सेन्चुरी, खाद्यान्न व्यवसायी धर्मवीर शर्मा र पर्यटन व्यवसायी कैलाश गुप्ता संघको सदस्यमा मनोनित भएका हुन् । संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले उनीहरुलाई मनोनित गरेका हुन् ।
पदस्थापन समारोहमा मनोनित भएका तीनैजना सदस्यहरुले सपथ ग्रहण गरेका छन् । धर्मवीर शर्मा संघको ६४ औं साधारणसभा तथा अधिवेशनमा सचिव पदमा उम्मेदवार थिए । उनी संघको ६३ औं साधारणसभा तथा अधिवेशनबाट कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए ।
त्यस्तै संघको सल्लाहकारमा शिव प्रसाद गौडेल, डी.आर. शर्मा, भैरव प्रसाद कलवार, दिपेन्द्र प्रधान र सीताराम उप्रेती मनोनित भएका छन् । त्यस्तै संघको परामर्श समिति सदस्यमा रुपमा हिराचन, डा. शम्भु कुमार गुप्ता, पशुपति कान्दु, चन्द्र थापा, सम्झना शर्मा, कुर्वान अली, ऋषिराम पाण्डेय, मृगेन्द्र गोविन्द श्रेष्ठ, राजु न्यौपाने, सागर अधिकारी र गंगा सागर अग्रहरी मनोनित भएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij