२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

लायन्स सिद्धार्थनगर सेन्टिनियलद्वारा स्वागत, बधाई तथा सम्मान

शनिवार , फाल्गुण २७, २०७९

भैरहवा, २७ फागुन ।
लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलले शुक्रबार भैरहवामा स्वागत, बधाई तथा सम्मान कार्यक्रम गरेको छ । क्लबले रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क. र सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई बधाई ज्ञापनका साथै सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले स्वागत तथा सम्मान कार्यक्रमले कर्तव्यप्रति जिम्मेवराी बन्ने प्रेरणा र हौसला प्रदान गरेको बताए । उनले उद्योगी–व्यवसायी र प्रहरीबीच नङ र मासुको जस्तो सम्बन्ध रहेको बताए । उनले भने, ‘प्रहरीको एक्लो प्रयासले मात्र हुँदैन, उद्योगी व्यवसायी तथा नागरिकबाट रचनात्मक सहयोगको अपेक्षा गरेका छौं ।’ एसपी वि.क.ले कसैले पनि अनावश्यक हैरानी दिने काम नहुने बताए । उनले शान्ति सुरक्षाका लागि प्रहरी अहोरात्र खटेको र शान्ति सुरक्षा भए उद्योग व्यवसाय फस्टाउने बताए । उनले उद्योगी व्यवसायी, सामाजिक संघ–संस्था लगायतसँग समन्वय गर्दै अघि बढ्ने बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका नवनिर्वाचित अध्यक्ष ठाकुर कुमार श्रेष्ठले कुनै पनि अवैध व्यापारलाई संघले प्रोत्साहन नगर्ने बताए । उनले भने, ‘जुन विश्वासका साथ हामीलाई जिताउनुभएको छ, त्यहीअनुरुप दुई वर्षे कार्यकालमा उद्योग व्यवसायी तथा नागरिकको पक्षमा काम गर्नेछौं ।’
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका फस्ट भाइस डिष्ट्रिक गभर्नर अर्जुनमान सैंजुले सिद्धार्थ उद्योग वाणिज्य संघ निजी क्षेत्रको धरोहर भएको बताए । उनले सामाजिक संघ संस्था र निजी क्षेत्र सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए ।

लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलका अध्यक्ष गजेन्द्र कोहारले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।
लायन्स सिद्धार्थनगर सेन्टिनियलका अध्यक्ष गजेन्द्र कोहारको अध्यक्षता, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका गभर्नर नवराज न्यौपानेको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक विपिन कुमार साहको स्वागत, सदस्य सुनिता खातीद्वारा ध्वजा अभिवादन तथा सचिव गणेश प्रसाद खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा लायन्स सिद्धार्थनगर सेन्टिनियलका पूर्वअध्यक्षहरुलाई पनि सम्मान गरिएको क्लबले जनाएको छ ।