
शुक्रवार , पौष १७, २०७७
भैरहवा, १७ पुस ।
जेसीआई सिद्धार्थ लेडी, नेपालको आयोजनामा ‘शम्भुजित बास्कोटा नाईट’ कार्यक्रम हुने भएको छ । गत २०७६ फागुन ३० गते विभिन्न कारणवश कार्यक्रम स्थगित भएकोमा जेसीआई सिद्धार्थ लेडी, नेपालले यही पुस २४ गते शुक्रबार उक्त कार्यक्रम गर्ने भएको हो ।
भैरहवास्थित होटल पौवामा पुस २४ गते बेलुकी ५ बजेदेखि कार्यक्रम हुने जेसीआई सिद्धार्थ लेडी, नेपालकी अध्यक्ष तुलसा भुसालले बताइन् । ‘गत वर्ष टिकट विक्री गरेर पनि कार्यक्रम आयोजना गर्न सकेनौं, यसपटक कार्यक्रम गर्दैछौं, सबैको सहयोग र साथको अपेक्षा राखेका छौं, ’जेसीआई सिद्धार्थ, लेडी नेपालले शुक्रबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा भुसालले भनिन् ।
सामाजिक उत्तरदायित्वका कार्यहरुलाई निरन्तरता दिदै आएको संस्थाले कोष अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागेको कार्यक्रम संयोजक ईन्दिरा पन्तले बताइन् । कार्यक्रममा सहभागिताको लागि प्रवेश शुल्कवापत रु. एक हजार पाँच सय तोकिएको र सांगितिक कार्यक्रमसंगै खानाको समेत व्यवस्था रहेको उनले बताइन् । हालसम्म साढे ५ सय बढी टिकट विक्री भइसकेको पन्तले जानकारी दिइन् ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के.सी.ले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुलाई निरन्तरता दिएर जेसीआई सिद्धार्थ लेडी, नेपालले सराहनीय कार्य गरेको बताए । उनले कोष अभिवृद्धिमार्फत संस्थालाई थप रचनात्मक काम गर्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा वरिष्ठ संगितकार शम्भुजित बास्कोटाको नेतृत्वमा १६ जनाको टोली आउने जेसीआई सिद्धार्थ लेडी, नेपालले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij