
मंगलवार , फाल्गुण २३, २०७९
भैरहवा, २३ फागुन ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४ औं वार्षिक साधारणसभा तथा अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका विजय पाण्डेले निजीक्षेत्रको पक्षमा आफ्नो भूमिकालाई जीवन्त राख्न कोशिष गर्ने बताएका छन् । उनले संघको साधारण सदस्यको हैसियतले आउने दिनहरुमा विभिन्न माध्यमबाट सहकार्यमा निरन्तर रहने बताए ।निजीक्षेत्रको विकासमा आउने दिनहरुमा सहयोगको अपेक्षा समेत राखेको उनको भनाइ छ ।
गत २०७९ माघ २० गते सिद्धार्थ उद्योग वाणिज्य संघको निर्वाचनमा संघका मतदाताज्यूहरु उत्साहपूर्वक मतदानमा सहभागी हुनुभयो, उनले भने,‘निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन निर्वाचन समिति र संघका कर्मचारी परिवारले जिम्मेवारी निर्वाह गर्नुभयो । त्यसका निम्ति सम्पूर्णलाई धन्यवाद साथै अध्यक्ष लगायत सम्पूर्ण विजयी उम्मेदवारहरुलाई हार्दिक बधाई व्यक्त गर्दछु ।’ उनले अधिकांश स्वनिर्णयी विवेकशील उद्यमी व्यवसायी मतदाताहरुले परिवर्तनको मार्गलाई मतको माध्यमबाट समर्थन गर्नुभएको बताए । पाण्डेले भने, ‘समर्थनमा भन्दा फरक मत राख्नुभयो । मतदानको सम्मान गर्दै यहाँहरुप्रति आभार व्यक्त गर्दछु ।’
सोमबार सामाजिक संजाल फेसबुकमा पाण्डेले लेखेका छन्, ‘मतदाताज्यूहरुले हामी उम्मेदवारहरुलाई मतदान गर्नुभयो । मलाई पनि मतदान गर्नुभयो । मेरा शुभेच्छुक, सहयोगी, आफन्तजनले अध्यक्षमा उम्मेदवारी दिएकोमा खुशी व्यक्त गर्नुभयो । साथ दिनुभयो ।’
यस्तो छ संघमा पाण्डेको यात्रा
२०६२ सालमा सिद्धार्थ उद्योग वाणिज्य संघमा पाण्डे प्रवेश गरेका थिए । २०६२ देखि २०७५ सालसम्म (पाँचपटक) कार्यसमिति सदस्यको जिम्मेवारी निर्वाह गरेका पाण्डे एक कार्यकाल सचिव समेत भइसकेका छन् ।
यस अघि संघको महासचिवमा निर्वाचित पाण्डे सरल स्वभाव तथा उद्योगी व्यवसायी एवं आम नागरिक माझ लोकप्रिय मानिन्छन् । उनकै अगुवाईमा संघमा नेतृत्वसीप क्षमता विकास तालिम सुरु भयो र अहिले उक्त तालिम ६५ औं श्रृंखलासम्म पुगेको छ ।
पाण्डेले लामो समयसम्म सञ्चार क्षेत्रमा आबद्ध भइ विभिन्न मिडियामा काम गरिसकेका छन् । उनी साहित्य क्षेत्रमा पनि आबद्ध छन् । पाण्डे इलेक्ट्रोनिक व्यवसायमा आबद्ध छन् ।
संघको ६४ औं अधिवेशनबाट संघको अध्यक्षमा ठाकुर कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij