
मंगलवार , फाल्गुण २३, २०७९
भैरहवा, २३ फागुन ।
उद्योगी–व्यवसायीले मुलुकको आर्थिक संकटप्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरुले आर्थिक संकट छिट्टै टरोस् भन्दै कामना गरेका छन् ।
चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) र आस्था उद्यमी महिला संघले मंगलबार भैरहवामा आयोजना गरेको होली मिलन तथा शुभकामना कार्यक्रममा उद्योगी व्यवसायीहरुले आफूहरु समस्यामा रहेको बताए ।
सिद्धार्थनगर–९ स्थित उद्योग व्यापार संगठनको भवन परिसरमा आयोजित कार्यक्रममा चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले होली पर्वले मुलुकको आर्थिक संकट समाधान होस् भन्ने कामना गरे । उनले होली पर्वलाई असत्यमाथि सत्यको जीतको उत्सवको रुपमा हर्षोल्लासका साथ मनाइने भएकाले यो पर्वको ठूलो महत्व रहेको बताए ।
संगठनका निवर्तमान अध्यक्ष तथा भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले आर्थिक संकटका कारण उद्योगी व्यवसायी सबैभन्दा मारमा परेको बताए । उनले भने, ‘होली पर्वको अवसरमा मुलुकको आर्थिक संकट छिट्टै टरोस् भन्ने कामना गर्दछु । ’ उनले चर्को बैंक ब्याजदरले उद्योगी व्यवसायी पीडित भएको बताए ।
संगठनका सल्लाहकार विश्वराज बराल (अनुप) ले तिक्ततालाई हटाउँदै मिलेर अघि बढ्नुपर्ने बताए ।
लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माले सम्पूर्ण चाडपर्वको आफ्नै महत्व रहेको बताइन् ।
चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, कार्यक्रम संयोजक मिनिता थापा क्षेत्रीको स्वागत, संगठनका उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मीको स्वागत तथा महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्मा र सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका नवनिर्वाचित कार्यसमिति सदस्य विरेन्द्र ज्ञवालीलाई सम्मान गरिएको संगठनका सचिव तथा प्रवक्ता लक्ष्मण भण्डारीले बताए ।
तराई–मधेश क्षेत्रमा मंगलबार होली मनाइँदैछ । मुलुकका पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट आज तराई–मधेशमा होली पर्व मनाइँदैछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij