
शुक्रवार , फाल्गुण १९, २०७९
भैरहवा, १९ फागुन ।
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ३ थान ह्वील चेयर हस्तान्तरण गरेको छ । क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत ह्वील चेयर हस्तान्तरण गरेको जनाएको छ ।
शुक्रबार विमानस्थलमा आयोजित एक कार्यक्रममा क्लबका अध्यक्ष भोजबहादुर खत्री, सचिव प्रकाश पोखरेल, पूर्वअध्यक्ष वृजेशकुमार अग्रवाल, किशोर जोशी, सावित्री गुरुङ, पूर्वअध्यक्ष परिषद् अध्यक्ष डा.शान्त कुमार शर्मा लगायतले विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहाललाई ह्वील चेयर हस्तान्तरण गरेका हुन् ।
महाप्रबन्धक दाहालले विमानस्थललाई अत्यावश्यक ह्वील चेयर सहयोग गरेर रोटरीले महत्वपूर्ण सामाजिक कार्य गरेको भन्दै प्रशंसा गरे । उनले सधै समाजसेवा र सामाजिक कार्यलाई आफ्नो दायित्व सम्झिने रोटरी जस्ता संघ–संस्थाको सहयोगले विमास्थलको सेवालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
‘विमानस्थललाई हाललाई ह्वील चेयर अत्यावश्यक थियो । यहाँहरुले गरेको सहयोगबाट अशक्तहरुलाई भित्रबाहिर ल्याउन लैजान सहयोग मिल्ने छ, यो पुण्यको काम हो’, उनले भने । महाप्रबन्धक दाहालले रोटरीलाई यस्ता सामाजिक कार्य निरन्तर गर्न सुझाव दिए । उनले आफू सेवानिवृत्त भएपछि रोटरीमा आबद्ध भएर सामाजिक कार्यमा लाग्ने जनाए ।
क्लबका अध्यक्ष खत्रीले विमानस्थलसँग सहकार्य गरेर ह्वील चेयर हस्तान्तरण गर्न पाउँदा हर्षित भएको बताए । उनले आफूहरुले तत्कालको आवश्यकता पहिचान गरेर सहयोग गरेको जनाए । ‘आउँदा दिनमा पनि स्वार्थभन्दा माथि उठेर विमानस्थलका लागि आवश्यक सामाग्री उपलब्ध गराउँदै जाने छौं’, उनले भने, ‘जहाँ दुख्छ, त्यहाँ रोटरी सिद्धार्थनगर पुग्छ भन्ने भावनासाथ रोटरी विगतदेखि नै सामाजिक कार्य गर्दै आएको छ र अब पनि गर्दै जाने छ ।’
उनले गरिब, विपन्न, असहाय, जेष्ठ नागरिकलाई लक्षित गरेर क्लबले सामाजिक कार्य गर्दै आएको प्रष्ट्याए । शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा विशेष चासोका साथ काम गरिरहेको उनको भनाइ छ । पूर्वअध्यक्ष परिषद् अध्यक्ष शर्माले मानवीय सेवा आफूहरुको मुख्य उद्देश्य रहेको जनाए । उनले हरेक संस्थाले सामाजिक काम गर्नुपर्नेमा जोड दिँदै आफूहरुले समस्या र समस्या भोगिरहेका ठाउँ, बस्ती र नागरिकको पहिचान गरी सेवा गर्दै आएको बताए । क्लबका सदस्य मोहनसिंह गुरुङले ह्वील चेयर नहुँदा विमानस्थल प्रयोग गरेर आउजाउ गर्ने अशक्तहरुलाई समस्या भएको जानकारीमा आएपछि सहयोग गरेको जनाए । उनले अब भने त्यस्ता नागरिकलाई सहज हुने बताए । कार्यक्रममा क्लबका पदाधिकारी, सदस्यहरु, विमानस्थलका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij