२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

८७ जनाको मोतियाबिन्दुको नि:शुल्क शल्यक्रिया 

शुक्रवार , फाल्गुण १९, २०७९

भैरहवा, १९ फागुन । 
रुपन्देहीमा आँखा उपचारको क्षेत्रमा पुरानो अस्पताल श्रीकृष्ण नेत्रालय फेको सेन्टर भैरहवाले ८७ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया (अपरेशन) गरिदिएको छ । 

इम्प्रुभिङ लाइफ इन नेपालले नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर १ स्थित रुपौलियामा गरेको शिविरमा चेकजाँच गराउँदा मोतियाबिन्दुमा समस्या देखिएका ८७ जनाको नेत्रालयले निःशुल्क शल्यक्रिया गरिदिएको हो । अस्पतालका नेत्र रोग विशेषज्ञहरु डा. सल्मा केसी र डा. रासिजा खनालले मोतियाबिन्दुको शल्यक्रिया गरेका हुन् ।

श्रीकृष्ण नेत्रालयले सामाजिक उत्तरदायित्व अन्तर्गत कमजोर आर्थिक अवस्था भएका सर्वसाधारणको आंखाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिदिने गरेको अस्पतालका व्यवस्थापक अमोद सिंहले बताए । 

मोतियाबिन्दुको शल्यक्रिया गर्दा न्यूनतम ७ हजार ५ सय र मेसिनबाट गर्दा १२ हजार ५ सय देखि ५० हजारसम्म शुल्क लाग्ने गर्छ । निःशुल्क शल्यक्रियाको सुविधा पाउँदा गाउँका नागरिकले ठूलो राहतको महसुस गरेको सिंहले बताए । 

आँखा शिविरमा अस्पतालका इञ्चार्ज मलाउ गुप्ताको नेतृत्वमा अप्टोमेट्रिस सौरभ सरकार, ओएहरु प्रिति शर्मा, गीता जीसी, एन्जिला भण्डारी, बबिता पालले आँखा चेकजाँच गरेका थिए ।

शिविरको उद्घाटन गर्दै सुस्ता गाउँपालिका वडा नम्बर १ का अध्यक्ष अशोककुमार चौधरीले सरकारी अस्पतालले गर्ने काम निजी क्षेत्रको अस्पताल श्रीकृष्ण नेत्रालयले गरेको भन्दै यसबाट अरुले सिक्नुपर्ने बताए । आँखाका बिरामीको सुविधालाई मध्यनजर गरी अस्पतालले बुटवलको पुष्पलालपार्कमा पनि सेवा विस्तार गरेको व्यवस्थापक सिंहले जानकारी दिए ।