२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

सगरहवामा गरिने मूर्तीकार्यशालाको कार्यतालिका परिवर्तन, चैत २३ देखि सुरु हुने

शुक्रवार , फाल्गुण १९, २०७९

भैरहवा, १९ फागुन ।
कपिलवस्तु राष्ट्रिय मूर्तीकला कार्यशाला आगामी चैत २३ गते पूर्णिमादेखि हुने गरी कार्यतालिका परिवर्तन गरिएको छ । यसअघि फागुन २३ गते पूर्णिका दिनदेखि ऐतिहासिक स्थल सगरहवामा कार्यशाला गर्ने तयारी गरिएको थियो । सगरहवा पुरातात्विक स्थल भएकाले त्यहाँ जियोफिजकल सर्भे गर्नुपर्ने, मूर्तीका लागि आवश्यक ढुंगा व्यवस्थापन गर्नुपर्ने तथा विद्युत जस्ता अन्य प्राविधिक कामका लागि समय अपुग भएपछि कार्यशाला एक महिनापछाडि सारिएको हो । 

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईको अध्यक्षतामा कपिलवस्तुको सगरहवामा बिहीबार जनप्रतिनिधिसहित त्यस क्षेत्रका कार्यशाला सम्पन्न गर्न गठित समितिका संयोजकहरुको बैठकले चैत २३ गतेदखि कार्यशाला गर्ने गरी कार्यतालिका परिवर्तन गर्ने निर्णय गरेको हो । बैठकले व्यवस्थित रुपमा स्थानीयहरुको समेत सक्रिय सहभागितामा कार्यशाला सम्पन्न गर्ने गरी समयअवधि  समेत तोकिएको छ ।  पुरातात्व विभागले सगरहवाको जियोफिजिकल सर्भे (जमिनमुनी पुरातात्व संरचना भएनभएको परीक्षण) गरेर प्रतिवेदन दिएपछि स्थान छनौट र ढुंगा व्यवस्थापनका लागि फागुन मसान्तसम्मको समय तोकिएको छ । 

विद्युत व्यवस्थापन चैत पहिलो साता, चैत १७ भित्र कलाकारहरुको छनौट र मूर्तीको म्याकेट माग गर्ने निर्णय भएको छ । बैठकले कार्यशालालाई स्थानीयहरुको अपनत्वमा सम्पन्न गर्न ढुंगा व्यवस्थापन, विद्युत व्यवस्थापन, साँस्कृतिक कार्यक्रम व्यवस्थापन, आमा समूह परिचालन जस्ता उपसमितिहरु गठन गरिएको लुम्बिनी विकास कोष तिलौराकोट शाखा प्रमुख माधव प्रसाद आचार्यले जानकारी दिए । बैठकमा लुुम्बिनी विकास

कोषका कार्यकारिणी सदस्य विश्वराज पौडेल, परिषद सदस्य गोपीकृष्ण शर्मा, कपिलवस्तु नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष दीपक गुुरुङ, विज्ञ समितिका सदस्य गीता अन्जान केसी, प्राज्ञ गोविन्द प्रसाद चौधरी, पत्रकार भेषराज पाण्डे लगायतको उपस्थिति रहेको थियो । 

कार्यशाला सम्पन्न गर्नका लागि माघ १६ गते सगरहवाका प्रतिनिधि, प्रदेशसभाका सांसद, कपिलवस्तु नगरपालिकाका जनप्रतिनिधि एवं स्थानीय सरोकारवालाहरुको उपस्थितिमा भेला गरिएको थियो ।