
बुधवार , फाल्गुण १७, २०७९
भैरहवा, १७ फागुन ।
श्रीलंकामा हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा सहभागी हुन नेपालका ६ जना खेलाडी बुधबार त्यसतर्फ प्रस्थान गरेका छन् । मार्च ४ मा श्रीलंकामा हुने कराँते प्रतियोगिताको लागि वादोरियो कराँते डो– संघका खेलाडी कमरुद्दीन अलि, शोभाखर पन्त, सन्यम् कंडेल, पुरुषोत्तम पोख्रेल, विष्णु भट्टराई, श्रेया राईलाई सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले एक कार्यक्रमकाबीच माला लगाएर राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै विदाई गरे । खेलाडीलाई शुभकामना दिदै नगरप्रमुख खानले खेलाडी राष्ट्रको चिनारी भएका कारण सरकारले संरक्षण गनुपर्ने बताए ।
त्यस्तै नेपाल करांते महासंघ लुम्बिनी प्रदेश संयोजक भरत बहादुर केसीले मार्सल आर्ट भगवान गौतबुद्धसँग सम्बन्धित रहेको खेल भएका कारण नेपाललाई अन्तर्राष्ट्रियस्तरमा गौतमबुद्धको देश भनेर चिनाउने कराँते खेलाडीलाई राम्रो अवसर भएकोले अनुशासित बनेर खेल प्रदर्शन गर्न शुभकामना व्यक्त गरे ।
विदाई कार्यक्रममा खेलाडीलाई विदाई शुभकामना दिदै मदन भण्डारी स्पार्टस् एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्यले नेपाली खेलाडीहरु जहिले पनि अहिंसाको पक्षमा रहेको र सामाजिक विकृतिविरुद्ध खेल खेल्ने बताए ।
नेपाल कराँते महासंघका महासचिव तथा वादोरियो कराँते संघका केन्द्रिय अध्यक्ष हरि शरण केसी टीम म्यानेजरको रुपमा रहेका छन् । त्यस्तै टोलीमा प्रदेश प्रतिनिधि तथा प्रदेशका टीम म्यानेजर जनेश पन्थी समेत सहभागी भएका छन् । संघका जिल्ला अध्यक्ष युवराज पराजुलीको अध्यक्षतामा सम्पन्न भएको खेलाडस् विदाई कार्यक्रममा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेल, लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्मा, मिसन गजुरियो करांते डो संघ रुपन्देहीका अध्यक्ष उमेश थापा लाटोमगर, अखिल नेपाल टेबल टेनिस संघका केन्द्रिय उपाध्यक्ष महेन्द्र लिगल, वादोरियो कराँतेका संरक्षक प्रेम जीएम, नमस्ते एकेडेमीका म्यानेजर उमेश कंडेल, होटल एभरेष्ट ईनका सञ्चालक बालाराम भट्टराई लगायतको सहभागीता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij