२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

रुपन्देहीमा डीएसपीसहित १४ प्रहरीलाई कारवाही

बुधवार , फाल्गुण १७, २०७९

भैरहवा, १७ फागुन । 
प्रहरीमा गलत काम गर्नेलाई कारवाही र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने गरिन्छ । प्रहरी संगठनको उद्देश्य र लक्ष्यविपरीत काम गर्ने प्रहरी कर्मचारीलाई कारवाही हुने गर्छ । रुपन्देहीमा चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १४ जना प्रहरी कारवाहीमा परेका छन् । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष ०७८/७९ मा २९ जना गलत काम गर्नेलाई कारवाही र राम्रो काम गर्ने ६५ जना प्रहरी पुरस्कृत भएका छन् । भ्रष्टाचार, संगठनको आचारसंहिता उल्लंघन, कामकारवाहीमा लापरवाही, गैरव्यवसायिक कार्य र अनुशासनहिन लगायतका काम गरेका प्रहरी कर्मचारीलाई कारवाही हुने गर्छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं डीएसपी श्यामु अर्यालका अनुसार चालु आर्थिक बर्षको ७ महिनाको अवधिमा १ जना प्रहरी नायब उपरीक्षक, १ जना प्रहरी वरिष्ठ नायब निरीक्षक, २ जना प्रहरी नायब निरीक्षक, १ जना प्रहरी वरिष्ठ हवलदार, १ जना प्रहरी हवलदार ४ जना प्रहरी सहायक हवलदार र ३ जना प्रहरी जवानलाई कारवाही गरिएको हो । त्यस्तै यसै अवधिमा ६ जनाले राजीनामा, ४ इन्सपेक्टरसहित ८ जनाले अनिवार्य अवकाश लिएको प्रवक्ता अर्यालले भने । 
गम्भीर किसिमको भ्रष्टाचारमा संलग्नलाई सेवाबाट हटाउने तथा बर्खास्तीको कारवाही हुने गर्छ । त्यसै गरी कारवाही स्वरुप पदोन्नती रोक्का, कारवाही स्वरुप तलब कट्टी, तल्लो टाईम स्केलमा घटुवा, नसिहत, सख्त चेतावनी दिइने गरिन्छ । गम्भीर किसिमको भ्रष्टाचारमा संलग्नलाई नोकरीबाट हटाउने तथा बर्खास्तीको कारवाही हुने गरेको छ । कारवाहीमा पर्नेहरुको बढुवा र पदोन्नतिमा असर पर्ने गर्छ । 

प्रहरीले कारवाही मात्र नगरी राम्रा काम गर्नेलाई पुरस्कृत गरेको छ । पछिल्लो ७ महिनामा ३ डीएसपी, १९ इन्सपेक्टरसहित ६३ जना प्रहरीलाई पुरस्कृत गरिएको छ भने ४८ जना प्रहरीको बढुवा गरिएको छ । बढुवा हुनेमा प्रहरी निरीक्षकमा ३ जना, प्रहरी नायब निरीक्षकमा १ जना र प्रहरी सहायक हवलदारमा ४४ जना रहेको कार्यालयले जनाकारी दिएको छ । 

आर्थिक वर्ष २०७८/७९ मा ७ जनाले राजीनामा लिएको, २९ जनालाई विभिन्न प्रकृतिको कारवाही गरिएको ६५ जनालाई पुरस्कृत गरिएको र ४ सय १९ जनालाई बढुवा गरिएको प्रहरी प्रवक्ता अर्यालले बताए । कार्यालयको प्रस्तावमा प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा अन्तर्गत प्रहरी महानिरीक्षकको निर्णय अनुसार पदोन्नति हुने गरेको छ । पदोन्नती भएका सबैलाई जिल्ला प्रहरी कार्यालयले दर्ज्यानी चिन्ह प्रदान गर्ने गर्छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विगतमा पनि उत्कृष्ट कार्य गर्ने प्रहरीलाई महिनापिच्छे पुरस्कृत गर्दै आएको थियो । प्रहरी उपरीक्षक हेम कुमार थापाले जिल्लाको कार्यभार सम्हालेदेखि जिल्ला प्रहरी र मातहत कार्यरत प्रहरी कर्मचारीलाई कामको मुल्यांकन गरेर हरेक महिना उत्कृष्ट प्रहरी अवार्ड र पुरस्कार दिदै आएका थिए । त्यस्तै प्रहरी उपरीक्षक मनोज केसीले पनि कार्यभार सम्हाल्दा प्रहरी इन्ट्रिग्रीटी अवार्ड भन्दै मासिक रुपमा प्रहरी कर्मचारीहरुलाई सम्मान गर्ने गरेका थिए । सधै गलत गर्नेलाई प्रहरीलाई कारवाही गर्नु मात्र नभई उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गरेर पनि सुधार ल्याउन सकिन्छ भन्ने उद्देश्यले प्रोत्साहन स्वरुप अवार्ड दिने गरेको थियो ।

ठूलो परिमाणमा लागुऔषध बरामद गर्ने, संगठित प्रकृतिको अपराधको अनुसन्धान तथा प्रहरी कार्वाहीमा प्रभावकारी भूमिका निर्वाह गर्ने, विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्ने, आदेश–निर्देशनको पालना गर्ने, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रहने, आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति दिने, कर्तव्य ज्यान वा पुराना प्रतिवादीहरुलाई पक्राउ गर्न सहयोग पुर्याउने लगायतका सूचकको आधारमा उत्कृष्ट प्रहरीलाई सम्मान गर्ने गरिएको थियो । अवार्डले प्रहरीबीच कामको प्रतिष्पर्धात्मक विकास, मनोबल बढ्नुका साथै चेकजाँचमा दुरुस्तता, सबै प्रहरी सूचनामा अपडेट पनि हुने गरेका थिए । न्युज कारखाना