
बुधवार , फाल्गुण १७, २०७९
भैरहवा, १७ फागुन ।
भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीले आफूहरुलाई विस्थापित गर्न लागेको भन्दै सीमा नाका बेलहियाका व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन् ।
भन्सार कार्यालय अगाडि नगरपालिकाको स्वामीत्वमा रहेको भवन भन्सार कार्यालयले यात्रु शाखा बनाउन माग गरेको भन्दै व्यवसायीहरुले कालोपट्टी बाँधेर विरोध जनाएका हुन् । उनीहरुले बेलहिया व्यवसायी संघर्ष समिति गठन गरेर आन्दोलन थालेका हुन् ।
संघर्ष समितिका संयोजक सुरेन्द्र क्षेत्रीले बेलहियाबासीले बचाएको स्थानलाई भन्सार कार्यालयले माग्नु जायज नभएको बताए । उनले पर्यटन आगमन हुने मुख्य हुने स्थानको बेलहियाबासीले संरक्षण गरेको बताए । उनले भने, ‘स्थानीय सरकार र राज्यलाई व्यवसायीहरुले कर तिरेर नै व्यवसाय सञ्चालन गर्दै आएका छन् । व्यवसाय सञ्चालन गर्न नदिने हो भने व्यवसायीहरु कहाँ जाने ? ’ संयोजक क्षेत्रीले यात्रु शाखा बनाउने नाममा व्यवसायीहरुलाई विस्थापित गर्न नपाइने बताए । कोरोनाले थलिएको व्यवसायीले चर्को बैंक ब्याजदरबाट पीडित भएको बेला व्यवसायीलाई विस्थापित गर्न खोजिए परिणाम राम्रो नहुने उनले चेतावनी दिए ।
स्थानीय व्यवसायी श्रीचन्द गुप्ताले नगरपालिकाले व्यवसायिक भवन भन्सारलाई दिने कुरा सुनेको भन्दै यस्ता नगर्न आग्रह गरे । उनले भने, ‘भन्सार प्रमुख र सिद्धार्थनगर नगरपालिकाका प्रमुखलाई हाम्रो आग्रह छ । व्यवसायीलाई विस्थापित नगरियोस् । यस्तो गरे स्थिति नाजुक हुन्छ । हामी सडकमा आउन बाध्य हुन्छौं ।’
सिद्धार्थनगर नगरपालिकाका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेलले सिद्धार्थनगर नगरपालिकाले व्यवसायिक भवन भन्सार कार्यालयलाई दिने भन्ने कुरा आए पनि नगरप्रमुख र वडाअध्यक्षले मात्र चाहेर दिन नसकिने बताए । उनले यसबारे नगरसभामा पनि छलफल भए पनि नगरसभाबाट पारित नभएको जानकारी दिए । उनले भने, ‘स्थानीय सरकारको स्वामीत्वमा भएको स्थान यात्रु शाखा राख्न उपयुक्त छ ? ’कोरोनाले थला परेको व्यवसायीले व्यवसाय सञ्चालन गरेको स्थानमा आँखा गाड्नु उपयुक्त नभएको उनको भनाइ छ । उनले व्यवसायीले कर तिरेर नै व्यवसाय सञ्चालन गरिरहेको बताए ।
स्थानीय इरफान वारिसले सेवामूलक व्यवसाय सञ्चालन गरिरहेका व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने आफूहरुको माग रहेको बताए ।
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले ६ लेन सडक निर्माण बोर्डरसम्म बनाउँदा भन्सारको यात्रु शाखा भत्किने भएको र तत्कालै नयाँ भवन बनाएर सेवा दिने अवस्था नरहेको बताए । उनले भने, ‘भन्सार कार्यालयको कारणले सडक विस्तार कार्य रोकिएको भन्ने जस्तो कुरा आएपछि जिल्लास्थित राजस्व चुहावट समितिको बैठकमा यो कुरा राख्यौं । ’समितिले तत्काल उपलब्ध भवन हेर्दै नगरपालिकाको भवन अस्थायी रुपमा भाडामा लिएर भन्सारको यात्रु शाखा र ईलाका प्रहरी कार्यालय भवन सञ्चालन गर्ने र यता भवन बनिसकेपछि सार्ने गरी अगाडि बढ्ने निर्णय गरेको उनले बताए ।
सिद्धार्थनगर नगरपालिकाको स्वामीत्वमा रहेको बेलहिया भन्सार अगाडिको पार्किङसहितको २५ व्यवसायिक सटरमा व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij