
मंगलवार , फाल्गुण १६, २०७९
बुटवल, १६ फागुन ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिले बुटवलका विभिन्न संस्थामा नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको छ । हालै सम्पन्न अधिवेशनबाट निर्वाचित पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन र यातायात मजदूर तथा व्यवसायी भलाई कोषका अध्यक्षसहित पदाधिकारीहरुलाई सम्मान गरिएको हो ।
पश्चिमान्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष हिमाल गैरे र यातायात मजदूर तथा व्यवसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेल लगायतलाई एक कार्यक्रमकाबीच सम्मान गरिएको पश्चिम नेपाल बस व्यवसायी प्रालिले जनाएको छ । प्रालिका अध्यक्ष दधिराम खरेल र पूर्वअध्यक्षहरु दामोदर ज्ञवाली, तुलसीराम बन्जाडे, सुरेन्द्रमान श्रेष्ठ लगायतले नवनिर्वाचित अध्यक्ष गैरे र फूल्लेललाई सम्मान गरिएको प्रालिले जनाएको छ ।
सो अवसरमा बोल्दै प्रालिका अध्यक्ष खरेलले यातायात व्यवसायी तथा मजदूहरुका समस्या समाधानका लागि सरोकारवाला संस्थामा आबद्ध व्यवसायी तथा मजदूरहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष हिमाल गैरेले यातायात व्यवसायसँग सम्बन्धित समस्याहरु समाधानका लागि सरकार उदासिन बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।
भलाई कोषका अध्यक्ष दिनेश फुल्लेलले यातायातसम्बन्धी नीतिहरु परिमार्जनका लागि आग्रह गर्दै धरासायी बन्दै गइरहेको व्यवसायलाई प्रबद्र्धन गर्न सरकारले तदारुकता देखाउन आवश्यक रहेको चर्चा गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर पौडेल, प्रालिका पूर्वअध्यक्षहरु दामोदर ज्ञवाली, तुलसीराम बन्जाडे, सुरेन्द्रमान श्रेष्ठ, प्रबन्धक रामचन्द्र भुसाल लगायतले यातायात मजदूर तथा व्यवसायीका समस्याहरु र समस्या समाधानका उपायहरुका बारेमा चर्चा गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij