२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

रुपन्देहीमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम सुरु

मंगलवार , फाल्गुण १६, २०७९

भैरहवा, १६ फागुन ।
‘ट्राफिक नियमको पालना सभ्य समाजको सृजना’ भन्ने नाराका साथ मंगलबारदेखि रुपन्देहीमा सवारी दुर्घटना न्यूनीकरण तथा लेन अनुशासनसम्बन्धी सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम–२०७९ सुरु भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीको आयोजनामा उक्त कार्यक्रम सुरु भएको हो ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक साकार राज पन्तले बताए । उनले ८० प्रतिशत दुर्घटना मानवीय लापरवाहीका कारण हुने भएकाले दुर्घटना न्यूनीकरणका लागि सडकमै कार्यक्रम गरिने बताए । उनले भने, ‘सडक प्रयोगकर्ता, सवारीचालक र सह–चालकलाई सडकमै प्रशिक्षण दिइनेछ । विद्यार्थीहरुलाई स्वयंसेवकका रुपमा परिचालन गर्छौं ।’ सडक लेन अनुशासनसम्बन्धि ज्ञान दिने र सार्वजनिक सवारीसाधन तथा ट्रक चालकलाई सडकमै प्रशिक्षण दिएर सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने भएकाले कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।

मंगलबार (पहिलो दिन) भैरहवाको देवकोटाचोकबाट सुरु भएको प्रभातफेरी बैंकरोड, मिलनचोक, प्रहरीटोल, नारायणपथ, बर्मेलीटोल हुँदै बुद्धचोकमा पुगेर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सवारीसाधनमा ट्राफिक सचेतनासम्बन्धि कुरा लेखिएका स्टिकर टांसेर उद्घाटन गरेका थिए ।

IMG_9732.JPG

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले नागरिकका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले सचेतनामूलक कार्यक्रम गरेको बताए । उनले देश र समाजको विकासका लागि अनुशासन आवश्यक रहेको बताए । उनले भने, ‘ट्राफिक प्रहरी कार्यालयले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत ७ दिन फरकफरक कार्यक्रम गरेर सवारीचालकहरुलाई प्रशिक्षण दिनुपर्छ । ’

नगरप्रमुख खानले ट्राफिक नियम उल्लंघन गर्ने व्यक्तिहरुलाई पहिलोपटक सम्झाउनुपर्ने र पुनः गल्ती गरे जरिवाना तिराउनुपर्ने बताए । उनले छाडा चौपाय व्यवस्थापनमा सिद्धार्थनगर नगरपालिका लागिपरेको बताए । 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सवारी दुर्घटनाको पहिलो कारण मानवीय लापरवाही भएको बताए । उनले मादक पदार्थ सेवन (मापसे) सेवन गरेर सवारीचालक चलाउँदा सवारी दुर्घटना बढेको बताए । उनले भने, ‘चालकलाई लक्षित गरेर कार्यक्रम गर्नुपर्छ ।’ प्रमुख जिल्ला अधिकारी पाण्डेले ६ लेन सडकमा लेन अनुशासन पालनालाई ध्यान दिनुपर्नेमा जोड दिए । उनले रात्रीकालिन समयमा मापसे चेकजाँचलाई निरन्तरता दिन जरुरी भएको बताए ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईले सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति भएको बताए । उनले सवारी दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति भएको बताए । उनले सवारी दुर्घटना न्यूनीकरण ट्राफिक प्रहरीको एक्लो प्रयासले मात्र सफल नहुने भएकोले सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले भने, ‘पछिल्लो समय युवा वर्ग धेरै दुर्घटनामा परेको देखिन्छ । सवारीचालक तीव्र गतिमा चलाएर जित्ने–हार्ने सवाल हुँदैन । तीव्र गतिमा र मापसे सेवन गरेर सवारीसाधन चलाउनु हुँदैन । जीवन अमूल्य छ । ’

प्रभातफेरीमा प्रहरी, सशस्त्र प्रहरी, उद्योगी, व्यवसायी, विद्यार्थी, शिक्षक लगायतको उपस्थिति भएको थियो ।

IMG_9716.JPG
IMG_9651.JPG