
सोमवार , फाल्गुण १५, २०७९
भैरहवा, १५ फागुन ।
युवा नेतृत्व विकासमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको भूमिका रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले युवाले नेतृत्व लिने बेला आएकाले सक्षम व्यक्तिले अवसर पाए राम्रा काम हुन सक्ने बताए ।
स्वतन्त्र मधेशी विद्यार्थी युनियन भैरहवा, रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको युवा नेतृत्व विकासमा स्ववियु निर्वाचनको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले मिलेर अघि बढ्नु आजको आवश्यकता रहेको बताए ।
कार्यक्रममा बोल्दै भैरहवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अनिल कुमार झाले विद्यार्थी जीवनमा अनुशासन आवश्यक रहेको बताए । उनले स्वतन्त्र मधेशी विद्यार्थी युनियनले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको भन्दै आभार व्यक्त गरे ।
भैरहवा बहुमुखी क्याम्पसका प्राध्यापक त्रिभुवन बरईले अगाडि बढ्न र सफलता प्राप्त गर्न अनुशासन आवश्यक रहेको बताए । उनले भने, ‘नेतृत्वमा पुग्नु भनेको नेता भएर आउनु मात्र होइन ।’
जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले युवाको नेतृत्व गर्ने बेला आएकाले पछाडी हट्न नहुने बताए । उनले सक्षम नेतृत्व आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘आपसी खिचातानीका कारण अगाडि बढ्न सकेनौ । एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन ।’
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का युवा नेता महेन्द्र गुप्ता (प्रशान्त) ले राजनीतिमा त्याग आवश्यक रहेको बताए । उनले मुलुकमा भएको विभिन्न परिवर्तनमा विद्यार्थीको योगदान महत्वपूर्ण रहेको चर्चा गरे । उनले भने, ‘विद्यार्थी राजनीति कठिन मोड हो ।’
युवा नेता मोहम्मद अलीले मधेशी विद्यार्थीको हकहितका लागि स्वतन्त्र मधेशी विद्यार्थी युनियन गठन गरिएको बताए । उनले विद्यार्थीको हकहितका लागि काम गर्ने व्यक्तिलाई नेतृत्वमा पुर्याउनुपर्नेमा जोड दिए । उनले भने, ‘मधेशी विद्यार्थीहरुको हकहितका लागि अघि बढ्नुपर्छ । त्यागको भावना राख्नुपर्छ र मिलेर अघि बढ्नुपर्छ ।’
शिक्षक अनिल पाण्डेले समझदारीमा निर्णय गर्दै अघि बढ्न सुझाव दिए ।
वीर फाउण्डेशन, नेपालकी अध्यक्ष विजया खत्रीले अबको नेतृत्व युवाले पाउनुपर्नेमा जोड दिइन् ।
स्वतन्त्र मधेशी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष तथा मानव अधिकारकर्मी अग्नि शक्ति यादवले यो संस्था कुनै पार्टी निकट नभइ मधेशी विद्यार्थीको हकहितका लागि स्थापना गरिएको संस्था भएको बताए । उनले विचार र एजेण्डा मिल्ने संघ–संगठनबाट आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा साझा उम्मेदवार घोषणा गरेर अघि बढ्नुपर्ने बताए ।
विद्यार्थी रोशन मिश्राले स्ववियु निर्वाचनमा उम्मेदवारी दिन चाहने विद्यार्थी नेता तथा संगठनले आफ्नो घोषणापत्र सार्वजनिक गर्नुपर्ने बताए ।
स्वतन्त्र मधेशी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष अग्नि शक्ति यादवको अध्यक्षता, भैरहवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अनिल कुमार झाको प्रमुख आतिथ्यता, युनियनका संस्थापक सदस्य विनय पाण्डेको स्वागत तथा अभिषेक उपाध्यायको सञ्चालनमा सम्पन्न कार्यक्रममा युवा नेता एवं समाजसेवी विनय कुमार मिश्रा, जनता समाजवादी पार्टी, नेपाल (जसपा)का युवा नेता विकास यादव, कार्यक्रम संयोजक अनुप द्विवेद्वी लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij