
आइतवार , फाल्गुण १४, २०७९
रुपन्देही, १४ फागुन ।
सामाजिक सेवाभावले खोलिएका सम्पर्क समाजले आफ्नो जन्मभूमिप्रतिको माया र सम्बन्धलाई थप प्रगाढ बनाउने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
लिम्घा रुपन्देही सम्पर्क समाज बुटवल, रुपन्देहीको तेस्रो साधारणसभा तथा दोस्रो अधिबेशनमा बोल्ने वक्ताहरुले आफ्नो जन्मस्थान छोडेर रुपन्देहीका विभिन्न ठाउँमा बसोबास गरेका व्यक्तिहरुलाई गोलबन्द गरेर समाज अगाडि बढ्नुपर्ने उनीहरुले बताएका छन् ।
साधारणसभाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले समाजले सामाजिक सद्भाव राख्ने गरी सेवामुलक काम गर्नुपर्ने सुझाव दिए । उनले यस्ता समाजले नयां सन्ततीलाई समाजमा गोलबद्ध गर्नुका साथै उनीहरुमा गाउँप्रतिको माया ममतामा बढावा दिलाउन सफल हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा समाजका अध्यक्ष परमानन्द भट्टराईले गुल्मी जिल्लाको लिम्घा (हाल सत्यवती गाउँपालिका–४) बाट रोजगरी, बसाईसराई, अध्ययन तथा अन्य कामको सिलसिलामा रुपन्देहीका विभिन्न ठाउँमा छरिएर रहेका लिम्घेलीहरुलाई गोलबद्ध गर्दै एक अर्कामा परेका दुःखसुखमा सहभागि हुने उद्देश्यले समाजको स्थापना गरिएको बताए ।
चार वर्ष अगाडी स्थापना भएको समाज जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा विधिवत दर्ता भएको समाजले लिम्घाका पहिरो पीडितलाई आर्थिक सहयोग, तीज मिलन, मृत्यु संस्कारमा सहयोग तथा समवेदना व्यक्त गर्नुका साथै गुल्मी लिम्घाका ऐतिहासिक र साँस्कृतिक महत्वका क्षेत्रहरुको प्रचारप्रसारका कामलाई अगाडि बढाउने बताए ।
समाजका उपाध्यक्ष खिमानन्द भट्टराईको स्वागत तथा सचिव भोजराज पौडेलको सञ्चालनमा भएको कार्यक्रममा बुटवल लक्ष्मी पार्कका अध्यक्ष बाबुराम भट्टराई, लक्ष्मीनगर विकास केन्द्रका उपाध्यक्ष गोकर्ण ज्ञवाली, समाजका सल्लाहकार धर्मदत्त ज्ञवाली, शंकर ज्ञवाली, कुलमणि ज्ञवाली, छविलाल रेगामी लगायतले बोल्दै लिम्घावाट बसाईसराई गरी रुपन्देहीका विभिन्न ठाउंमा बसोबास गरेका गाउँबासीलाई संस्थागत गर्दै एकताबद्ध गर्नु समाजको महत्वपूर्ण काम भएको बताए । साधारण सभाले समाजका कोषाध्यक्ष प्रेमनिधि ज्ञवालीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र अध्यक्षको वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
सामाजिक सद्भाव राख्ने गरी सेवामूलक, गैरराजनीतिक संस्थाका रुपमा दर्ता भएको समाजले बुटवल लक्ष्मीनगरस्थित लक्ष्मी पार्कमा आफ्नै लगानीमा निर्माण गरेको सभाहलमा साधारण सभा, वनभोज र मनोरञ्जनामत्क सांस्कृति कार्यक्रम गरेको हो ।
समाजमा पुनः भट्टराईको नेतृत्वमा नयाँ समिति चयन
लिम्घा रुपन्देही सम्पर्क समाज बुटवल, रुपन्देहीको दोस्रो अधिवेशनबाट पुनः परमानन्द भट्टराईको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन भएको छ ।
अधिवेशनले उपाध्यक्षमा खिमानन्द भट्टराई, सचिवमा भोजराज पौडेल, कोषाध्यक्षमा प्रेमनिधि ज्ञवाली तथा सदस्यहरुमा बसन्त थापा, मिनराज ज्ञवाली, थम्मन शाही, जीवलाल ज्ञवाली, गोमा गैरे ज्ञवाली, सरस्वती शर्मा ज्ञवाली, गुमानसिंह सिंजाली, दुर्गा ज्ञवाली, हरि ज्ञवाली, लालमणि भट्टराई र हरिप्रसाद ज्ञवाली रहेका छन् ।
निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक धर्मदत्त ज्ञवाली, सदस्य होमनाथ ज्ञवाली र मन शाहीले शपथ ग्रहणसहित शुभकामना व्यक्त गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij