
आइतवार , फाल्गुण १४, २०७९
भैरहवा, १४ फागुन ।
नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा डिभिजन ‘ए’ को खेल सुरु भएको छ । आइतबार भएको डिभिजन ‘ए’ को खेलमा जीआर क्रिकेट क्लब विजयी भएको छ । जीआरले शंकरनगर क्रिकेट क्लबमाथि २ सय २० रनको फराकिलो अन्तरले जित निकालेको हो ।
सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ रोजेको जीआरले निर्धारित ५० ओभरको खेलमा ४९.३ ओभरमा सबै विकेट गुमाउँदै ३ सय ६४ रनको उच्च योगफल बनायो । उसका लागि संदीप सुनार र खड्क बोहराले शतकीय पारी खेले । संदीपले १ सय १६ बनाउँदा खड्कले १ सय ४ जोडे । यस्तै, विशाल भुसालले ६१, पुरन विकले २७, विमल भट्टराईले १६ र अनमोल श्रीसले १० रनको योगदान दिए । बलिङमा शंकरनगरका महेन्द्र सुवेदी क्षेत्री र केशव पौडेलले समान ३–३ तथा पदम ज्ञवाली र युवराज सेनले १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको शंकरनगर ३४.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४४ रनमै रोकियो । उसलाई सस्तैमा रोक्न बलिङमा जीआरका विनय जिसीले ४, संदीप सुनारले ३, पुरन विकले २ तथा सागर गिरीले १ विकेट लिए । शंकरनगरका प्रवेश सारु मगरले २३, हार्तिक तथाले १९, युवराज सेनले १७ र महेन्द्र सुवेदीले १६ रन बनाए । जीआरका संदीप सुनार म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जानकारी दिए ।
चैत ३ गतेसम्म चल्ने प्रतियोगितामा विजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता विजेता पुरस्कार एभरेष्ट कत्था मिल तथा उपविजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्स, भैरहवाका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन्
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij