
आइतवार , फाल्गुण १४, २०७९
भैरहवा, १४ फागुन ।
चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)ले शनिबार सिद्धार्थनगर (भैरहवा) मा सरसफाई कार्यक्रम गरेको छ । संगठनको वार्षिक कार्ययोजना अनुसार सिद्धार्थनगरलाई सफा र स्वच्छ शहर बनाउन केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । उनले भने,‘ सरसफाई कार्यक्रमले नगर सफा राख्नुपर्छ भन्ने सन्देश जान्छ । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरलाई पर्यटकीय शहर पनि हो । नगरलाई सफा र हराभरा राख्नु हामी सबैको दायित्व हो ।’ उद्योगी व्यवसायीको हकहितमा काम गर्दै आएको संस्थाले सामाजिक उत्तरदायित्वका कार्यहरु पनि गर्दै आएको ज्ञवालीले बताए ।
बुद्धचोकदेखि निर्वाणा होटलसम्मको क्षेत्र सरसफाई गरिएको कार्यक्रम संयोजक राम प्रसाद सापकोटाले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले नगरपालिकाको एक्लो प्रयासले मात्र नहुने भएकाले नगर सरसफाई राख्न सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए । उनले जथाभावी फोहर नफाल्न आग्रह गरे ।
त्यस्तै नगर उपप्रमुख उमा अधिकारीले नगरलाई सफा र स्वच्छ राख्न निजी क्षेत्र र नगरबासीको भूमिका महत्वपूर्ण रहेको बताइन् ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले सरसफाई कार्यक्रम महत्वपूर्ण कार्यक्रम भएको बताए ।
उद्योग व्यापार संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यता, नगर उपप्रमुख उमा अधिकारीको विशिष्ट आतिथ्यथा, कार्यक्रम संयोजक रामप्रसाद सापकोटाको स्वागत, उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मीको धन्यवाद ज्ञापन तथा सचिव टीकाराम भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
सिद्धार्थनगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय, रुपन्देही, सशस्त्र प्रहरी बल २७ नं. गण हेड क्वाटरको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको संगठनका कोषाध्यक्ष राम मिलन यादवले बताए ।
कार्यक्रमको सहयोगी संस्थामा आस्था उद्यमी महिला संघ, मदिरा व्यवसायी संघ भैरहवा, जेसीआई सिद्धार्थ लेडी नेपाल, लायन्स क्लब अफ नोबल लेडिज, होटल तथा रेष्टुरेष्ट व्यवसायी संगठन रुपन्देही, लुम्बिनी मनि चेञ्जर व्यवसायी संघ, नेपाल भन्सार एजेण्ट संघ बेलहिया र लुम्बिनी ट्रक यातायात व्यवसायी संघ रहेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij