२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

रुपन्देही सुपर लिग : प्रोफेसनल मास्टर्स ३२८ रनले विजयी

शुक्रवार , फाल्गुण १२, २०७९

भैरहवा, १२ फागुन  ।
भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा शुक्रबार भएको डिभिजन ‘बी’ को खेलमा प्रोफेसनल मास्टर्स ११ विजयी भएको छ । उसले लुम्बिनी शाक्यानलाई ३ सय २८ रनको विशाल रन अन्तरले पराजित गर्दै जीत निकालेको हो । लिगको इतिहासमा यति ठूलो रन अन्तरले हारजित भएको यो पहिलोपटक हो ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ रोजेको प्रोफेसनलले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा ४ सय १८ रनको विशाल योगफल बनायो । उसका उक्त योगफल बनाउन दिलशाद अलीले १ सय ४२ रनको योगदान दिए । यस्तै, सचिन राजभरले ३९, अजय रसाइलीले ३२, जितेन्द्र शाहनीले ३१, आदित्य त्रिपाठीले ३०, इमरान पठानले नटआउट २८ र इमरान खानले २४ रन जोडे ।

बलिङमा लुम्बिनीका इमरान अहमद, सजाउद्दिन अन्सारी, एजाज खानले समान २–२  तथा राहुल गिरी, रुपेश बश्याल र आशिष लोहनीले १–१ विकेट लिए ।

प्रतिउत्तरमा ४ सय १८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी २०.४ ओभरमा सबै विकेट गुमाउँदै ९० रनमै समेटियो । उसका लागि रुपेश बस्यालले ३० र अफजल हुसेनले १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । लुम्बिनीलाई सस्तैमा रोक्न बलिङमा प्रोफेसनलका दिनेश अग्रवालले ५ तथा इमरान पठानले ४ विकेट लिए । प्रोफेसनलका दिलशाद अली म्यान अफ द म्याच घोषित भइ १ हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक धिरज अधिकारीले बताए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता छ । प्रतियोगितामा विजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता विजेता पुरस्कार एभरेष्ट कत्था मिल तथा उपविजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्स, भैरहवाका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् ।