
बिहिवार , फाल्गुण ११, २०७९
भक्तपुर, ११ फागुन ।
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउने प्रयास जारी रहेको बताएका छन् । रफत सञ्चार क्लबले बिहीबार भक्तपुरमा गरेको साक्षात्कारमा गुरुङले प्रधानमन्त्रीमा राष्ट्रिय सहमति जुटाउन सक्ने दलहरुले राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति जुटाउनुपर्ने बताए । उनले सरकार परिवर्तनका लागि गठबन्धनको स्वरुप परिवर्तन हुन सक्ने भएता पनि राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके नेपाल विदेशीको क्रिडास्थल बन्दै दुर्घटनाको बाटोतर्फ जाने बताए ।
राष्ट्रपति सर्वमान्य, संविधानको रक्षक र मूलुकमा परिवर्तन भएको गणतन्त्रको संरक्षकका साथै राष्ट्रिय स्वधिनताको रक्षकसँगै सबै दलको साझा व्यक्तिको चयनतर्फ लाग्नुपर्नेमा गुरुङले जोड दिए । बढ्दो राजनीतिक अस्वस्थ प्रतिष्पर्धा र दलहरुको निषेधको राजनीतिले निरन्तरता पाए देश अफगानिस्तान र युक्रेन बन्नेतर्फ स्वयं दलहरु नै लागि परेकाले निषेधको राजनीति नभइ सहमतिको राजनीतिलाई निरन्तरता दिनुपर्नेमा गुरुङले जोड दिए ।
पछिल्लो समय सरकारमै बसेर गणतन्त्र समाप्त गर्ने योजनाहरु बाहिर देखिएको बताउँदै गुरुङले नेकपा (एमाले) का केन्द्रीय सदस्य दुर्गा प्रसाईले झापामा देखाएको हर्कतले यसै संकेत गरेको उनको भनाइ छ ।
रास्वपाका सभापति रवि लामिछानेले अदालतको पूर्णपाठ नआउँदै गृह मन्त्रालय माग्नुले पनि संविधान उल्लंघन गर्ने काम भएको गुरुङको भनाइ छ । पूर्वराजा ज्ञानेन्द्रले संविधानको उल्लंघन गर्दै बाहिर ल्याएको वक्तव्य तर्फ सरकारको ध्यान जान नसक्नु र सरकारमै बसेर निरन्तरता दिनेहरुको समूहले ढिला चाँडो गणतन्त्र उल्टाउने भन्दै समयमै यसतर्फ ध्यान दिनुपर्ने गुरुङले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij