२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

धनगढीलाई पाँचौ खड्ग प्रसाद गौचन क्रिकेट प्रतियोगिताको उपाधि

बिहिवार , फाल्गुण ११, २०७९

बुटवल, ११ फागुन ।
पाँचौ खड्ग प्रसाद गौचन स्मृति यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता–२०७९ को उपाधि धनगढी क्रिकेट एकेडेमीले हात पारेको छ । स्टार क्रिकेट एकेडेमीको आयोजनामा बिहीबार भएको फाईनल खेलमा धनगढीले सिईसी, काठमाण्डौमाथि २ विकेटले जित निकाल्दै उपाधि हात पारेको हो । उपाधिसंगै धनगढी नगद ३० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए । सिईसीले भने नगद १५ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । 

प्रतियोगितामा धनगढीका सौर्य श्रेष्ठ म्यान अफ द सिरिज बन्दै नगद ५ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए । श्रेष्ठ उत्कृष्ट बलर समेत घोषित भए । धनगढीका निशान्त रेग्मी उत्कृष्ट ब्याट्सम्यान, ईमेर्जिङ प्लेयर्सबाट न्यू होराईजनका सुमन खनाल घोषित हुँदै नगद ३ हजार रुपैयाँ, कप र मेडलबाट पुरस्कृत भए ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको फाईनल खेलमा टस जितेर धनगढीले सिईसीलाई ब्याटिङको निम्तो दिएको थियो । सिईसीले ३९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ४९ रनको लक्ष्य खडा गरेको थियो । सिईसीका लागि स्मिथ बुढाले ४६, उमकार यादवले २५ तथा सिद्धार्थ साउदले २० रनको योगदान दिए । 

धनगढीका निशान्त रेग्मी, सचिन साउद र निरज एैरले समान २–२ विकेट लिए । मध्यम स्कोर पछ्याएको धनगढी ३१ ओभरमा ८ विकेटको नोक्सानीमा जीत हासिल गर्यो । धनगढीका निरज एैरले नटआउट ३९ तथा रबिन्द्र कुंवरले ३० रनको योगदान दिए । सिईसीका करण घर्ती मगर, ओमकार यादव र सौर्य श्रेष्ठले समान २–२ विकेट लिए । खेलमा म्यान अफ दि म्याच निरज एैरबाट पुरस्कृत भए । 

एक समारोहकाबीच ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव, उपाध्यक्ष सुनिता चौधरी, सदस्य गुन्जा चौधरी, शक्ति गौचनका मुमा रामकुमारी गौचन, बलियो नेपालमा सिईयो अतुल उपाध्याय, रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष प्रेम कुमार सेन्चुरी, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य धर्मराज गिरी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा थापा, सचिव संजय गुरुङ, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय सदस्य आदित्य पाण्डे, स्टार क्रिकेट एकेडेमीका डाईरेक्टर कविता गौचनले विजेता, उपविजेता खेलाडी तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन । 

कार्यक्रममा ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले खेलकुद विकासमा आफू निरन्तर लाग्ने बताए । कार्यक्रममा बलियो नेपालमा सिईयो अतुल उपाध्यायले खेलाडीहरुमा पोषणको माध्यमबाट फिट र खेलकुदमा अघि बढाउने लक्ष्यसहित संस्थागत रुपमा कार्यक्रम ल्याएको बताए । पहिलो चरणको लिग र सेमीफाइनल खेलहरु देवदह क्रिकेट मैदानमा खेलाइएको थियो ।