
बिहिवार , फाल्गुण ११, २०७९
भैरहवा, ११ फागुन ।
लुम्बिनीमा विदेशी पर्यटकबाट दानवापत संकलित विदेशी मुद्रा सटही हुने भएको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बिहीबार नेपाल राष्ट्र बैक सिद्धार्थनगर रुपन्देहीका निर्देशक थानेश्वर आचार्यलाई ध्यानाकर्षण पत्र बुुझाएसँगै लामो समयदेखि सटही नभएर कागज बराबर भएका विदेशी मुद्रा सटही गर्ने सहमति भएको हो ।
नेपाल राष्ट्र बैंकको परिवत्र्य विदेशी मुद्राको सूचीमा नपरेका देशका पर्यटकले भेटी र दानवापत लुम्बिनीमा चढाएको रकम लामो समयदेखि सटही हुन सकेको थिएन । राष्ट्र बैंकले सटहीका लागि प्रक्रिया थाल्न लुम्बिनी विकास कोषलाई सहमति दिएसँगै आर्थिक वर्ष २०७१/२०७२ देखि सटही हुन नसकेको १ करोड १७ लाख ९५ हजार बराबरको विदेशी मुद्रा सटहीको प्रक्रियामा गएको हो ।
विभिन्न मूलूकबाट लुम्बिनी भ्रमणमा आएका पर्यटकले चढाएको भेटी रकम राष्ट्र बैंकको परिवत्र्य विदेशी मुद्राको सूचीमा नपरेकै कारण सटही हुन नसकेको र आफूरुको पटकपटकको अनुरोधपछि सटही हुने अवस्थामा आएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए ।
‘राष्ट्र बैंकका गभर्नर महाप्रसाद शर्मा रुपन्देही आएको बेला भेटीवापतको रकम सटही नभएको कुरा राखेका थियौं, ध्यानाकर्षण पत्र पनि बुुझायौं, राष्ट्र बैंकले सटही गर्ने सैद्दान्तिक सहमति भएको छ’ कोषाध्यक्ष भट्टराईले भने । कोषले संकलित विभिन्न ३९ देशका विदेशी मुद्रा सटहीका लागि एक हप्ताभित्र राष्ट्र बैंक पठाउने उनले बताए ।
लुम्बिनीमा भेटी र दानवापत जम्मा भएको विदेशी मुद्रामा सबैभन्दा धेरै म्यानमारको छ । त्यस्तै श्रीलंका, मेक्सिको, इराक, ब्रुनाई, लेवनान, पेरु, युगान्डा लगातका मुलुकको मुद्रा छ ।
परिवत्र्य विदेशी मुद्राको सूचीमा नरहेका देशको मुद्रा भएकाले सटहीमा समस्या भए पनि अब आफूहरुले सटहीका लागि प्रक्रिया अघि बढाइने राष्ट्र बैंक सिद्धार्थनगर शाखाका उपनिर्देशक जीवन प्रकाश पाण्डेले बताए ।
कोषबाट आउने मुद्रालाई केन्द्रीय कार्यालय हुँदै राष्ट्र बैंकको सिंगापुरस्थित एजेन्सी बैंकमा मुद्रा सटहीका लागि पठाइने बताए । उनकाअनुसार यो रकम सटही भएपछि ३ देखि ४ महिनाको अवधिमा लुम्बिनी विकास कोषको खातामा जम्मा हुनेछ ।
राष्ट्र बैंकले च्यातिएका, बढी केरमेट भएका र रङ लागेका, टालेका, झुत्रो भएका नोट भने सटहीमा समस्या हुने भएकाले त्यस्ता नोट नपठाउन कोषलाई सुझाव दिएको छ । लुम्बिनीमा भेटीवापत संकलित विदेशी मुद्रा सटही नहुँदा कागज बराबर भएको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन÷प्रशारण भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij