
बुधवार , फाल्गुण १०, २०७९
भैरहवा, १० फागुन ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आगामी फागुन १९ र २० गते हुने ६४ औं वार्षिक साधारणसभा तथा अधिवेशनमा हरि बहादुर थापाले उद्योग उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । हाल संघको कार्यसमिति सदस्यको जिम्मेवारी सम्हालिरहेका थापाले उद्योग उपाध्यक्षमा उम्मेदवारी दिने बताए ।
उनले निष्पक्ष ढंगले उद्योगी व्यवसायीको सेवा गर्न उम्मेदवारी दिने बताए । खबरपात्रोसँग कुरा गर्दै थापाले भने, ‘म २ वर्षअघि कार्यसमिति सदस्यको उम्मेदवार बन्दा आफ्नो मात्र समस्या देखे । तर संघमा कार्यसमिति सदस्यको रुपमा प्रवेश गरिसकेपछि २ वर्षकोअ अवधिमा बजारमा थुप्रै समस्या देखे । ’
उनले संघमा एउटै विचारका व्यक्ति जाँदा व्यवसायीहरुले आफूले चुनेर पठाउन खोजेका उद्योगी व्यवसायी जान नसक्ने भएकाले लोकतान्त्रिक प्रक्रियामार्फत जाँदा राम्रो हुने बताए । थापाले निर्वाचित भएर पदमा पुग्दा अर्कोपटक निर्वाचित हुनका लागि राम्रो काम गर्न र कटिबद्ध भएर लाग्न जिम्मेवारीबोध हुने बताए । थुप्रै विचारका व्यक्ति जाँदा बहस भइ ठोस निर्णय गर्न अझ सहज हुने उनको भनाइ छ । उनले भने, ‘सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही पुरा संस्था हो । यसले नेपाल उद्योग वाणिज्य महासंघमा राम्रो छवि राख्न सफल भएको छ । ’ संघको गरिमालाई अझ उच्च बनाउन र तरङ ल्याउन राम्रो व्यक्त चयन हुनुपर्नेमा उनले जोड दिए ।
थापा भैरहवा अटो कम्पनी प्रा.लि., बज अटोमोबाइल्स कम्पनी प्रा.लि., हरि ओम अटो पाटर्स, एच.एच. कम्पनी प्रा.लि., रुपन्देही क्रिकेट संघ, होटल पौवा, भैरहवा, साई ग्लोबल माध्यमिक विद्यालय तथा कलेज, भैरहवा सञ्चार गृह, भैरहवा टेलिभिजन र प्रोफेसनल मास्टर्स–११, रुपन्देहीमा आबद्ध छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij