२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

मायादेवी मन्दिरमा राखियो नयाँ प्रविधिको गजुर

मंगलवार , फाल्गुण ९, २०७९

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, ९ फागुन । लुम्बिनी विकास कोषले मायादेवी मन्दिरमा आधुनिक गजुर राखेको छ । गजुर जीर्ण भएपछि कोषले दाताहरुको सहयोगमा तयार पारिएको स्वयम्भू स्तुपा आकारको आधुनिक गजुर राखिएको हो ।

    गजुर स्थापनाका लागि थाइल्याण्डका बुद्धमार्गी रतना मालिनोङ्ग र लर्टट्रथ आक्रापास पोंगले आर्थिक सहयोग गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।

    मंगलबार दाता मालिनोङ्ग बुद्ध जन्मस्थल लुम्बिनी आएर बौद्ध भिक्षुबाट पूजा गरेपछि गजुर स्थापनालाई औपचारिकता दिइएको छ । यसअघि राखिएको गजुर पूरानो र जीर्ण भएकाले मर्मत गर्ने योजना भइरहेको बेला थाइल्याण्डबाट सहयोग प्राप्त भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

    स्वयम्भू स्तुपाको मोडेलमा रहेको गजुर करिब ३ महिना लगाएर तयार पारिएको शाक्यले बताए । गजुरको बाहिरपट्टीको भागमा सुनको जलप लगाइएको छ । यसअघिको मन्दिरको गजुर पूरानो र जीर्ण भइसकेको थियो । बाँदरले हल्लाउदा ढल्कने, पार्टपूर्जाहरु खिइएकाले गजुर मर्मत गर्नुपर्ने बेला सहयोग गर्ने दाताप्रती कोषका सदस्य सचिव शाक्यले धन्यवाद दिए । गजुरसँगै बुद्ध जन्मस्मारक (मार्कन स्टोन) को  कभर स्थापनाका लागि समेत टोलीले सहयोग गरेको कोषले जनाएको छ ।

    मालिनोङ्ग र लर्टट्रथले भारतको कुशीनगरस्थित विहारमा पनि गजुर स्थापना र बोधगयामा बोधीवृक्षको संरक्षणका लागि सहयोग गरेको बुद्धिष्ट अभियानकर्मी राजा शाक्यले बताए । उनकाअनुसार दाताले बुद्धप्रति श्रद्धा राखेर गजुर स्थापना गरेका हुन् ।

    आधुनिक प्रविधिअनुसार नेपाली मौलिक कलाको गजुर स्थापनाका लागि करिव ६० लाख लगानी लागेको शाक्यले बताए । नयाँ गजुर राखिएपछि मायादेवी मन्दिर आकर्षक देखिएको छ ।