२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था- गर्न थाले दोहोरो संवाद

मंगलवार , फाल्गुण ९, २०७९

काठमाडौं, ९ फागुन । खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएपछि उपचाररत कांग्रेस सांसद चन्द्र भण्डारी मंगलबारबाट दोहोरो संवाद गर्न थालेका छन् । 

गत बुधबार ग्यास सिलिन्डर विस्फोट भएपछि उनको कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गरिएको थियो । बिहीबार थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लगिएको थियो । अहिले उनको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचार भइरहेको छ । 

घटनापछि मंगलबार बिहान सवा १० बजे पहिलोपटक उनले दोहोरो संवाद गरेका कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए । 
उनका अनुसार उनलाई भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिएको छ । अन्य स्वास्थ्य पारामिटर नर्मल रहेको र सुन्निएको अनुहार घट्दै गएको छ ।  

सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे नेता सिवाकोटीले फेसबुकमा लेखेका छन्, ‘ फागुन–९ बिहान १०.१५ बजेको अपडेट अनुसार दुर्घटनापछि पहिलो पटक दोहोरो संवाद भएको छ। साथमा रहेका माधव न्यौपानेका अनुसार भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिएको छ। कल्चर रिपोर्ट आज आउदै छ।अन्य स्वास्थ्य पारामिटर नर्मल रहेका छन्। सुन्निएको अनुहार घटेको छ। स्वास्थ्य सामान्यतर्फ गईरहेको छ।’

सोही घटनामा परेर सांसद भण्डारीकी आमा हरिकला भण्डारीको भने बिहीबार नै उपचारका क्रममा कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा निधन भएको थियो ।