२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

सफलता प्राप्त गर्न मनोबल उच्च राख्नुपर्छ : मन्त्री गुप्ता

मंगलवार , फाल्गुण ९, २०७९

भैरहवा, ९ फागुन ।
लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सि.के.) ले जीवनमा सफलता प्राप्त गर्न मनोबल उच्च राख्नुपर्ने बताएका छन् । उनले मनोबल उच्च राखे सफलता प्राप्त गर्न सकिने बताए ।

ब्राइट स्टार इङलिस बोर्डिङ सेकेण्डरी स्कूल सिद्धार्थनगर–१, रुपन्देहीको छैठौं वार्षिक उत्सव तथा अभिभावक दिवसमा बोल्दै मन्त्री गुप्ताले आफू ३० वर्षको उमेरमा मन्त्री बनेको बताए । उनले भने, ‘म निर्वाचनमा उम्मेदवार भइ जनतामाझ जाँदा केही नेताहरुले यसले के गर्छ भन्ने जस्ता टिप्पणी गर्नुभयो, तर मैले मनोबल उच्च राखे, जनताको माया पाए र अहिले यो स्थानमा छु ।’

उनले आफू मन्त्री भन्दा पनि पहिला जनताको सेवक भएको बताए । मन्त्री गुप्ताले गुरुहरुको सम्मान गर्नुपर्ने बताए । उनले आफू यहाँसम्म पुग्नुमा गुरुहरुको देन रहेको बताए । मन्त्री गुप्ताले भने, ‘गुरुहरु आफू सदैव शिक्षकशिक्षिका भएर विद्यार्थीहरुलाई डाक्टर, इञ्जिनियर बनाउनुहुन्छ । ’ उनले विद्यार्थीहरुलाई शिक्षकशिक्षिकाले गाली गरे भनेर अभिभावकबाट गुनासो आउने गरेको तर शिक्षकशिक्षिकाले विद्यार्थीकै हितका लागि गाली गर्ने बताए । उनले विद्यालयको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 

IMG_9131.JPG

त्यस्तै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले नगरपालिका विद्यालयसँग हातेमालो तथा साथ र सहयोग गर्न तयार रहेको बताइन् । उनले भनिन्, ’बाहिर हल्ला फैलाइए जस्तो सामूदायिक र संस्थागत विद्यालयबीच भेदभाव गरिएको छैन, समान व्यवहार गरिएको छ । ’ उपप्रमुख अधिकारीले गुरुहरुले प्रदान गर्नुभएको नैतिक शिक्षाका कारण यहाँसम्म पुगेको बताइन् । उनले भनिन्, ’महिलालाई अघि बढाउन घरपरिवारबाट सहयोग हुनुपर्छ ।’

सिद्धार्थनगर नगरपालिकाकी शिक्षा अधिकृत जाह्नवी पाण्डेले विद्यालय समाजको ऐना भएको बताइन् । उनले विद्यार्थीको चौतर्फी विकासका लागि ब्राइट स्टार इङलिस बोर्डिङ सेकेण्डरी स्कूल अघि बढेको बताइन् ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय भैरहवाकी ब्रह्माकुमारी सत्याले विद्यालयको सफलताको शुभकामना व्यक्त गरिन् ।

ब्राइट स्टार इङलिस बोर्डिङ सेकेण्डरी स्कूलका प्रबन्ध निर्देशक अमित यादवको अध्यक्षता, लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सि.के.)को प्रमुख आतिथ्यता तथा स्कूलका प्रिन्सिपल एल.बी. रौतारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयको आयोजना गरेका अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्यु प्रस्तुती समेत गरेका थिए ।

IMG_9151.JPG