सोमवार , फाल्गुण ८, २०७९
भैरहवा, ८ फागुन ।
होटल पौवाले नेपालमा मनाइने विभिन्न पर्व र सांस्कृतिक महत्व राख्ने दिनहरुमा परम्परा र संस्कृतिअनुसार ग्राहकहरुलाई परिकार खुवाएर परम्परागत रैथाने खानाहरुको संरक्षण गर्ने अभियान थालेको छ । पौवाले महाशिवरात्री, रामनवमी, हरितालिका तीज, माघी जस्ता चाडपर्वहरुमा होटल परिसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
यसैबीच होटल पौवाले महाशिवरात्रीको अवसरमा होटलमा आउने ग्राहकहरुलाई शनिबार भजनकिर्तनमा नचाएको छ । महाशिवरात्रीका दिन पौवाका सबै शाखाहरुमा विशेष पूजाअर्चना गर्दै सांझ ५ बजेपछि भजनकिर्तनमा ग्राहकलाई नचाउने कार्यक्रम राखिएको होटल पौवाले जनाएको छ ।
यसवर्षको शिवरात्री पौवासँग मनाऔं संगै नाचौं, सँगसँगै खाऔं’ भन्ने मूल नाराका साथ पौवाका ११ वटा शाखामा शिवरात्री विशेष कार्यक्रम गरिएको पौवा गु्रपका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले जानकारी दिए । उनकाअनुसार उक्त दिन पौवामा शिव प्रसाद निःशुल्क खुवाउनुका साथै संगीतमय भजन टोलीले शिवरात्रीका दिन सांझ ५ बजेदेखि भजनकिर्तन गर्ने व्यवस्था मिलाइएको थियो । पौवाका ११ वटा शाखामा ३ हजार जना बढीको उपस्थिति रहेको भण्डारीले जानकारी दिए ।
‘नेपाली आतिथ्यता, संस्कृतिको जर्गेना’ नाराका साथ होटल पौवाले विभिन्न चाडपर्वहरुमा कार्यक्रमको आयोजना गर्दै आएको उनको भनाइ छ । गत माघ १ गते (माघे संक्रान्ति)को दिन पनि पौवाका शाखा रहेका स्थानहरुमा बसोबास गर्ने जाती विशेषको परिकार तयार गरी ग्राहकहरुलाई सेवा दिएको थियो । आगामी दिनमा पनि संस्कृति जर्गेना गर्न विभिन्न कार्यक्रम गर्ने होटल पौवाले जनाएको छ ।
होटल पौवाको रुपन्देहीको भैरहवा, बुटवल, पाल्पा, गुल्मी (रेसुंगा), दाङको भालुवाङ, घोराही, लमही,ग कपिलवस्तुको गोरुसिंगे, कास्कीको पोखरा, धनगढी र जुम्ला गरी ११ वटा शाखा छन् । शाखा विस्तारका लागि काठमाडौं, चितवन, जनकपुर र नेपालगंजमा सम्भाव्यता अध्ययन भइरहेको भण्डारीले जानकारी दिए ।
होटल पौवाको भैरहवा शाखामा १ हजार जना अट्ने हल, १९ वटा कोठासहित स्वीमीङ, बोटिङ तथा पारिवारिक वातावरणमा स्वादिलो खाना उपलब्ध हुने रेष्टुरेण्ट छ । भण्डारीले भने, ‘पौवाको ११ वटा शाखामा ३५० बढी कर्मचारी कार्यरत छन् । यहाँ कार्यरत कर्मचारीलाई पनि होटलमा लगानी गराएर अपनत्वको भावना हुने गरी अघि बढेका छौं ।’
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij