
शनिवार , फाल्गुण ६, २०७९
सियारी, ६ फागुन ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा योजना मन्त्री इन्द्रजीत थारु (चौधरी) ले शिक्षा क्षेत्रको विकास बिना अन्य क्षेत्रको विकास असम्भव रहेको बताएका छन् । रुपन्देहीको सियारी-४ स्थित लिलाधर घिमिरे छपिया जनता कलेजको आठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री चौधरीले दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा प्रणालीलाई विकास गर्दै जानुपर्नेमा जोड दिए ।
मन्त्री चौधरीले नेपालमा अहिलेसम्म पनि दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै राज्यको तर्फबाट शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएर जानुपर्ने वबस्था खड्किएको बताए । उनले पूर्वाधारको पनि पूर्वाधार शिक्षा क्षेत्र भएको बताउँदै मानव संशाधनको बिकासले मात्रै समाजको विकास प्रक्रियाले सही दिशा आत्मसाथ गर्ने बताए ।
मन्त्री चौधरीले ज्ञान र व्यवहारलाई एक साथ अगाडि बढाउनुपर्ने बताउँदै संविधानअनुसार प्राथमिकतामा परेको शिक्षालाई बजेटमा पनि प्राथमिकतामा पारेर लैजानुपर्नेमा जोड दिए । मन्त्री चौधरीले शिक्षालाई व्यवस्थित गर्न नसक्दासम्म आर्थिक समृद्धिको कल्पना समेत गर्न नसकिने उल्लेख गर्दै शिक्षा क्षेत्रको विकाससँगै भौतिक पूर्वाधारको विकास बढाउनुपर्ने बताए ।
सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका पूर्व शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री तथा प्रदेश सांसद वसिउद्दीन खाँले रुपन्देहीको शिक्षा क्षेत्रको समग्र विकासका लागि आफू निरन्तर लाग्ने बताए । उनले शिक्षामा पछाडि रहेको मर्चवार तथा आसपासको क्षेत्रलाई शिक्षाको मूलधारमा ल्याउनका लागि प्रदेश सरकारसँग आफूले निरन्तर काम गर्ने बताए ।
त्यस्तै प्रदेश सांसद हेमा बेल्वासे के.सी.ले सैद्दान्तिक ज्ञानका साथै व्यवहारिक र सीपमूलक ज्ञानलाई एकसाथै अघि बढाउनुपर्नेमा जोड दिइन् ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष बिद्धराम बन्जाडेको स्वागत तथा सहायक प्रधानाध्यापक तेजप्रसाद खरेलको सञ्चालनमा भएको कार्यक्रममा सियारी गाँउपालिकाका उपाध्यक्ष तारा थारु, कलेजका प्रधानाध्यापक लोक बस्याल, पब्लिक माविका प्रधानाध्यापक डिलाराम खनाल, सहायक प्रधानाध्याक ईन्द्रप्रसाद तिवारी लगायतले बोल्दै शिक्षा क्षेत्रको समग्र विकासका लागि तीनै तहका सरकारले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा अध्यक्ष घिमिरेले सियारी क्षेत्रको शिक्षा र पूर्वाधार विकासका लागि प्रदेश सरकारसँग आग्रह गरे । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि प्रदेशको स्थायी राजधानी भालुवाङ जोड्ने फास्ट ट्रयाकको कामलाई गति दिन मन्त्री चौधरीलाई आग्रह गरे ।
कार्यक्रममा कलेजलाई सहयोग गर्ने दाता, छात्रवृत्ति स्थापना गर्ने व्यक्ति, छात्रवत्ति पाउने विद्यार्थी तथा उत्कृष्ट कार्यसम्पादन गर्ने प्राध्यापक तथा कर्मचारीलाई सम्मान गरिएको थियो । साथै कलेजले प्रकाशन गरेको स्मारिकलाई विमोचन समेत गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij