
शुक्रवार , फाल्गुण ५, २०७९
भैरहवा, ५ फागुन ।
यही फागुन ७ गते आइतबार रुपन्देहीको भैरहवामा हुने ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं अभियान’ कार्यक्रमलाई सम्बोधन गर्न प्रमुख वक्ताको रुपमा दुर्गा प्रसाई आउने भएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं अभियान रुपन्देहीले शुक्रबार तिलोत्तमाको भलवारीमा पत्रकार सम्मेलनको आयोजना गरी अभियानबारे जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै अभियानका रुपन्देही संयोजक रुपसिंह थापाले दुर्गा प्रसाई प्रमुख अतिथि रहने उक्त कार्यक्रममा विभिन्न धार्मिक गुरुहरुका साथै विभिन्न क्षेत्रका अभियन्ताहरुको पनि उपस्थिति रहने बताए । उनले भने, ‘कार्यक्रममा देशका वित्तीय संस्थाहरुको ज्यादतीका कारण आम नागरिकमा बढ्दै गइरहेको गरीबीले कसरी देशको आर्थिक तथा सामाजिक संरचना नै ध्वस्त बन्दै गइरहेको छ, त्यसको बारेमा प्रमुख अतिथिले अब चाल्नुपर्ने कदम र समाधानबारे प्रष्ट पार्नुहुनेछ । ’उनले हालको व्यवस्थाका कारण हाम्रो मौलिक धर्म तथा संस्कृति जोगाउन, राष्ट्रवाद संरक्षण गर्न यो अभियान गर्न खोजेको बताए ।
‘आज बहुदलीय व्यवस्था हुँदै धर्मनिरपेक्षता, संघीयता स्थापना हुँदासम्म पनि जुन कुराहरु हाम्रा नव नेताहरुबाट दर्शाइएको थियो । सो अनुसार सुधार आउनुको सट्टा झन् झ्न तल खस्किदै गइरहेको छ । उनले भने, ‘बेरोजगार, बेथिति, भ्रष्टाचारले देशको अवस्था घाम जस्तै छर्लङ्ग छ ।’
फागुन १ गते मेचीबाट पूर्वराजा ज्ञानेन्द्र शाहको प्रमुख आतिथ्यतामा सुरु भएको अभियान दोस्रो कार्यक्रमको रुपमा भैरहवामा हुन गइरहेको हो । यसपछि अभियान बर्दिया, धनगढी, चितवन हुँदै २० गते काठमाण्डौंमा गर्ने योजना रहेको ईशा खडकाले जानकारी दिइन् । उनले दुर्गा प्रसाईको अभियान राष्ट्र बचाउने अभियान भएको दावी गरिन् ।
आइतबार दिउँसो १ बजेदेखि भैरहवास्थित अञ्चलपुरमा आयोजना हुने कार्यक्रममा २० हजार बढीको सहभागीता रहने अपेक्षा गरिएको आयोजकको भनाइ छ । कार्यक्रममा उपस्थिति हुन सबैलाई आयोजकले अनुरोध गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij