
शुक्रवार , फाल्गुण ५, २०७९
भैरहवा, ५ फागुन ।
आइसक्रिम चेन बास्किन रोबिन्सले बिहीबार बुटवलमा स्टोर शुभारम्भ गरेको छ । बुटलवको होराइजन चोकमा खुलेको स्टोरको एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेय, वसिउद्दीन खान र कन्हैया बनियाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री पाण्डेयले भारु अधिकतम रु. २५ हजार मात्रै नेपालमा ल्याउन पाउने सीमाका कारण पर्यटन क्षेत्र समस्यामा परेको बताएका छन् । उनले यसलाई बढाए मात्र भारतीय पर्यटकले अझ बढी खर्च गर्न सक्ने बताए ।
प्रदेशसभा सदस्य पाण्डेयले भने, ‘भारतीय पर्यटकले पैसा खर्च गरेनन् भन्ने कुरा गरिन्छ तर ती पर्यटकलाई २५ हजार भन्दा बढी ल्याउन दिइदैन, बढी पैसा ल्याउन पाए पो बढी खर्च गर्छन् । ’उनले सीमा क्षेत्रमा झण्झटिलो प्रक्रिया हटाएर पर्यटकलाई सेवा सुविधा उपलब्ध गराउनुपर्ने बताए । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) लुम्बिनी प्रदेश संसदीय दलका नेता समेत रहेका नेता पाण्डेयले पर्यटन क्षेत्रको प्रमुख केन्द्र लुम्बिनी भएको बताए । उनले पर्यटन क्षेत्रको विकासका लागि सेवासुविधा बढाउनुपर्नेमा जोड दिए ।
पाण्डेयले भने, ‘पर्यटन क्षेत्रलाई सरकारले प्रोत्साहन गर्नुपर्छ । ’ इण्डोनेसियाको उदाहरण दिदै पाण्डेयले पर्यटन क्षेत्रमा त्यहाँको सरकारले सहुलियत दिएकै कारण उक्त मुलुकमा धेरै पर्यटक भ्रमण गर्न जाने गरेको बताए । उनले होटलमा गरिने लगानीले पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए । उनले पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न र पर्यटकलाई सेवासुविधा उपलब्ध गराउन प्रदेश सरकार अघि बढ्नुपर्नेमा जोड दिए ।
त्यस्तै प्रदेशसभा सदस्य तथा पूर्व शिक्षामन्त्री वसिउद्दीन खानले बास्किन रोबिन्स स्टोर सञ्चालनमा आउनुले यस क्षेत्रको पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।
बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष उज्जवल कसजुले बास्किन रोबिन्सले बुटवलमा शुभारम्भ गर्नु खुसीको कुरा भएको बताए । उनले बुटवलको आर्थिक गतिविधिलाई यसले चलायमान बनाउने बताए ।
बास्किन रोबिन्स आइसक्रिम स्पेशलिटी स्टोरहरुको विश्वको सबैभन्दा ठूलो चेन भएको र यसका ६३ भन्दा बढी देशहरुमा ७ हजार बढी रिटेल स्टोरहरु रहेको छ । आइसक्रिममा १ हजार ५ सय भन्दा बढी स्वादहरु सिर्जना गरेको सन इन्टरनेशनल इन्कपार्रेट प्रा.लि. (एसआइआइपीएल) का अध्यक्ष सौरभ ज्योतिले बताए । उनले भने, ‘सधै हाम्रा ग्राहकहरुलाई नेपालमा उत्कृष्ट मिठासका विकल्पहरु उपलब्ध गराउन प्रयासरत छन् । ’ ज्योति गु्रपले बास्किन रोबिन्सलाई प्रवद्र्धन गर्न ग्रेभिस फूड प्राइभेट लिमिटेडसँग सहकार्य गरेको उनको भनाइ छ । बास्किन रोबिन्सको अहिले नेपालमा १२ वटा रिटेल आउटलेट र ९ आइचे्रअम कार्टहरु ८ वटा शहरमा उपलब्ध भएको ज्योतिले जानकारी दिए ।
ज्योति समूहले सन् २०१७ मा सन इन्टरनेशनल इन्कर्पोरेट प्रा.लि. सँग एफएमसीजी व्यवसायमा प्रवेश गरेको थियो ।
एसआइआइपीए वर्षौदेखि आइसक्रिम व्यवसायमा रहेको छ, नेपालभर विवरण च्यानल र कार्यालयहरु दु्रत रुपमा विस्तार गराइरहेको छ । यसबाहेक, यस ब्राण्डलाई सफल बनाउन एसआइआइपीएलसँग आतिथ्य र रिटेल उद्योगमा समर्पित र राम्रो प्रशिक्षित टोली भएको बताइएको छ ।
बुटवलमा नयाँ स्टोरको उद्घाटन बास्किन रोबिन्सको विश्वव्यापी विस्तारमा अर्को कोसेढुंगा हो र विश्वको उत्कृष्ट आइसक्रिम स्वादहरु नयाँ बजारहरुमा ल्याउन ब्राण्डको निरन्तर प्रतिवद्धता भएको एसआइआइपीएलको भनाइ छ । ‘बुटवलमा हाम्रो उद्घाटनको लागि यस्तो सकारात्मक प्रतिक्रिया देखेर हाम्रो उत्साहित छौं, बास्किन रोबिन्सका प्रतिनिधिले भने । हामी आगामी वर्षसम्म समुदायको सेवा गर्न र हाम्रा सबै ग्राहकहरुलाई रमाइलो अनुभव प्रदान गर्न तत्पर छौं ।’
स्टोरमा कम फ्याट, चिनी नभएको र डेयरी फ्री आइसक्रिम, शेक, सन्डेज, बार्स, बेल्जियन वाफल र चोको-लाभा प्रदान गर्दछ । ७५ वर्ष भन्दा लामो समयसम्म फैलिएको ब्राण्डको विरासतले यो सुनिश्चित गर्दछ कि ग्राहकहरुले सही उच्च गुणस्तरका उत्पादनहरु र रमाइलो स्वादहरु आशा गर्न सक्छन् जुन ब्राण्ड विश्वव्यापी रुपमा परिचित भएको समूहको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij