
बिहिवार , फाल्गुण ४, २०७९
भैरहवा, ४ फागुन ।
लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार मन्त्री सन्तोष कुमार पाण्डेयले भारु अधिकतम २५ हजार मात्रै नेपालमा ल्याउन पाउने सीमाका कारण पर्यटन क्षेत्र समस्यामा परेको बताएका छन् । उनले यसलाई बढाए मात्र भारतीय पर्यटकले अझ बढी खर्च गर्न सक्ने बताए ।
बिहीबार रुपन्देहीको बुटवलमा चेन बास्किन रोबिन्सको उद्घाटन गर्दै प्रदेशसभा सदस्य पाण्डेयले भने, ‘भारतीय पर्यटकले पैसा खर्च गरेनन् भन्ने कुरा गरिन्छ तर ती पर्यटकलाई २५ हजार भन्दा बढी ल्याउन दिइदैन, बढी पैसा ल्याउन पाए पो बढी खर्च गर्छन् । ’
उनले सीमा क्षेत्रमा झण्झटिलो प्रक्रिया हटाएर पर्यटकलाई सेवा सुविधा उपलब्ध गराउनुपर्ने बताए । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) लुम्बिनी प्रदेश संसदीय दलका नेता समेत रहेका नेता पाण्डेयले पर्यटन क्षेत्रको प्रमुख केन्द्र लुम्बिनी भएको बताए । उनले पर्यटन क्षेत्रको विकासका लागि सेवासुविधा बढाउनुपर्नेमा जोड दिए ।
प्रदेशसभा सदस्य पाण्डेयले भने, ‘पर्यटन क्षेत्रलाई सरकारले प्रोत्साहन गर्नुपर्छ । ’ इण्डोनेसियाको उदाहरण दिदै पाण्डेयले पर्यटन क्षेत्रमा त्यहाँको सरकारले सहुलियत दिएकै कारण उक्त मुलुकमा धेरै पर्यटक भ्रमण गर्न जाने गरेको बताए । उनले होटलमा गरिने लगानीले पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए । उनले पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न र पर्यटकलाई सेवासुविधा उपलब्ध गराउन प्रदेश सरकार अघि बढ्नुपर्नेमा जोड दिए ।
बुटवलको नयाँ बास्किन रोबिन्स स्टोर होराइजन चोकमा अवस्थित छ । यहाँ कम फ्याट, चिनी नभएको र डेयरी फ्री आइसक्रिम, शेक, सन्डेज, बार्स, बेल्जियन वाफल र चाको लाभा उपलब्ध रहेको स्टोरले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij