
बुधवार , फाल्गुण ३, २०७९
बुटवल, ३ फागुन ।
रोटरी क्लब अफ बुटवलले बुधबार ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ । क्लबले लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवललाई ट्राफिक सचेतना बोर्डसँगै मास्क हस्तान्तरण गरेको हो । क्लबका अध्यक्ष बोनिन पियाले प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमबहादुर थापा र वरिष्ठ प्रहरी नायब निरीक्षक ज्ञानु पाण्डेलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी नायब उपरीक्षक (डीएसपी) थापाले रोटरीले गर्दै आएको सामाजिक र रचनात्मक कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यलाई निरन्तर जारी राख्न आग्रह गरे । क्लबका अध्यक्ष बोनिन पियाले रोटरीले गर्दै आएका गतिविधिबारे प्रकाश पारेका थिए ।
त्यस अवसरमा रोटरी क्लब अफ बुटवलका पुर्व अध्यक्ष बिन्ध्याकेशर जोशी, रोटरीयन गोपालप्रसाद अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै रोटरी क्लव अफ बुटवलले रुपन्देहीका विभिन्न ९ वटा होटललाई ‘खाना खेर नफालौं ’भन्ने सन्देशसहित खाद्य सचेतना बोर्ड हस्तान्तरण गरेको छ । क्लबले रुपन्देहीको तिलोत्तमामा रहेको बोधीभिल्ला, मणिग्रामको विश्राम वाटिका, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट, ड्राईभरटोलको एसआर होटल, होटल टुलिप, होटल द फ्लेमिङ्गो, महाराजा रिसोर्ट कालिकानगर, बुटवलको सिद्धार्थ कटेज र होटल पौवालाई उक्त बोर्ड हस्नान्तरण गरिएको छ ।
सचेतना बोर्ड हस्तान्तरणका लागि क्लबका पदाधिकारी तथा सदस्यहरु विभिन्न होटलहरुमा पुगेका थिए । खाना खेर गइरहेको अवस्थामा होटलहरुलाई खाना खेर नफालौं भन्ने सन्देशसहित खाद्य सचेतना बोर्ड हस्तान्तरण गरिएको क्लबका अध्यक्ष बोनिन पियाले बताए । त्यसअवसरमा व्यवसायीहरुले रोटरीले खाद्य सुरक्षाको लागि महत्वपूर्ण सन्देश पुग्ने गरी अभियान चलाएकोमा धन्यवाद दिए । क्लबले दोस्रो चरणमा थप होटलहरुमा पनि खाद्य सचेतना बोर्ड हस्तान्तरण गर्ने क्लबका अध्यक्ष पियाले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij