आइतवार , माघ २९, २०७९
तिलोत्तमा, २९ माघ ।
तिलोत्तमा जेसीजले एकैदिन दुई कार्यक्रम सम्पन्न गरेको छ । जेसीजले शनिबार बिहान रक्तदान कार्यक्रम र सांझ पूर्वअध्यक्ष सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।
तिलोत्तमा जेसीजका अध्यक्ष प्रकाश गौतमको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ६१ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक सुलभ बन्जाडेले जानकारी दिए । तिलोत्तमा नगरपालिका–५ स्थित वडा कार्यालयमा भएको रक्तदान कार्यक्रममा बोल्दै तिलोत्तमा–५ का वडा अध्यक्ष रमेश डुम्रेले रगतको अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्दै जेसीजले रक्तदान जस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरेको भन्दै धन्यवाद दिए ।
त्यसै गरी तिलोत्तमा जेसीजले पूर्वअध्यक्षहरुलाई सम्मान गरेको छ । जेसीजले तिलोत्तमा जेसीजको स्थापना गर्दै संस्थालाई यहाँसम्म ल्याइ पुर्याउने नेतृत्व गर्नुभएका पूर्वअध्यक्षहरुका लागि सम्मान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष प्रकाश गौतमले बताए । उनले आफ्नो कार्यकालको पहिलो कार्यक्रमको रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्दै सुरु गरेको र तिलोत्तमा जेसीजलाई यहाँसम्म ल्याइ पुर्याएका पूर्वअध्यक्षहरुलाई सम्मान गर्दै कार्यकालको सुरुवात गरेको बताए ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाकाका प्रमुख रामकृष्ण खाणले समृद्ध तिलोत्तमा नगर निर्माणमा सबै मिलेर अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले जेसीजले समाजमा रहेर युवाहरुलाई विभिन्न सामाजिक, मानवीय सेवाका कार्यहरुमा जोड्नुका साथै युवाहरुमा रचनात्मक र सृजनशिलताको विकास गर्नुपर्ने बताए ।
जेसीज वर्ष २०२३ का लागि तिलोत्तमा जेसीजको आतिथ्यतामा सम्पन्न हुन लागेको क्षेत्र घ सम्मेलनको सन्दर्भमा बोल्दै नगरप्रमुख खाणले नगरभित्र कुनै पनि व्यवसायिक तथा सामाजिक संघ–सस्थाले सञ्चालन गर्ने राष्ट्रिय महत्वको कार्यक्रम तिलोत्तमा नगरपालिकाको पहिचानसँग जोडिने बताउँदै तिलोत्तमा जेसीजले अयोजना गर्न लागेको क्षेत्र घ सम्मेलन सम्पन्न गर्न नगरपालिकाले पूर्ण सहयोग गर्ने बताए ।
कार्यक्रममा तिलोत्तमा जेसीजका संस्थापक अध्यक्ष विनोद ढकाल, पूर्व अध्यक्षहरु बिनोद सुवेदी, निशान बाबु कार्की, जीवन गौतम, यादव भट्टराई, ईश्वर पाण्डे, जयप्रकाश भट्टराई, लोक प्रसाद भण्डारी (राजु) र बासुदेव शर्मालाई सम्मान गरिएको थियो । तिलोत्तमा जेसीजका सचिव महेश पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij