२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

रुपन्देहीका होटलमा अनुगमन : दुई वटालाई ७० हजार जरिवाना

आइतवार , माघ २९, २०७९

भैरहवा, २९ माघ ।
रुपन्देहीको मुख्य राजमार्ग क्षेत्रमा रहेका होटलहरुको अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, घरेलु तथा साना उद्योग कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्यालय बुटवलको संयुक्त अनुगमन टोलीले शुक्रबार अनुगमन गरेको हो ।

अनुगमनका क्रममा एउटा होटललाई रु. ५० हजार र अर्कोलाई रु. २० हजार गरी रु. ७० हजार जरिवाना गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए । 

देवदह नगरपालिका–९ स्थित घोडाहामा रहेको आँधीखोला होटलको भान्साको सरसफाईमा कमजोरी देखिएको, पकाएको खाद्यवस्तु खुला राखिएको, डी–फ्रिजमा पकाएको/कच्चा पदार्थ एउटै ठाउँमा राखिएको र मूल्यसूची नभएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख विमल कुमार दाहालले बताए । उनले उक्त होटललाई सरसफाईमा विशेष ध्यान दिन, पकाएको खानालाई छोपेर राख्न, पकाएको र कच्चा पदार्थ छुट्टाछुट्टै राख्न निर्देशन दिइएको जानकारी दिए ।

अनुगमनको क्रममा उक्त होटलले दर्ता प्रमाणपत्र, मूल्यसूची लगायतका कागजातहरु देखाउन नसकी असहयोग गरेकाले रु. २० हजार जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । ‘२०७९ फागुन १५ गतेसम्म व्यवसाय सञ्चालनसम्बन्धी सम्पूर्ण कागजात लिइ जिल्ला प्रशासन कार्यालयमा पेश गर्न होटल सञ्चालकलाई निर्देशन दिइएको छ,’ उनले भने ।

त्यस्तै बुटवल उपमहानगरपालिका–१२ स्थित कलुवामा रहेको न्यू मालिका कालिका होटल रेष्टुरेण्ट एण्ड होटलमा अनुगमन गर्दा भान्सा कोठा फोहर अवस्थामा रहेको, मूल्यसूची नभएको र होटलको दर्ता प्रमाणपत्र नभेटिएको अनुगमन टोलीले जनाएको छ । उक्त होटललाई सरसफाईमा ध्यान दिन र कमीकमजोरी सुधार्न निर्देशन दिइएको टोलीको भनाइ छ । उक्त होटलमा यात्रुहरूलाई दिइने खाना स्वस्थकर नभएको यात्रुहरुबाट गुनासो आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख विमल कुमार दाहालले बताए ।

उक्त होटललाई रु. ५० हजार जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए । उनले भने, ‘होटल सञ्चालकलाई २०७९ फागुन ३० गतेभित्र सम्पूर्ण कागजात जिल्ला प्रशासन कार्यालयमा रुपन्देहीमा पेश गर्ने निर्देशन दिइएको छ ।’

त्यसै गरी बुटवल उपमहानगरपालिका–१३ स्थित जीतगढीमा रहेको होटल द पोखरामा अनुगमन गर्दा भान्सा कोठा फोहर अवस्थामा रहेको, डी फ्रिजमा पकाएको र मासुजन्य पदार्थ एउटै ठाउँमा राखिएको र मूल्यसूची नराखिएको अनुगमन टोलीले जनाएको छ ।

उक्त होटललाई सरसफाईमा विशेष ध्यान दिन, डी फ्रिजमा पकाएको र कच्चा पदार्थ छुट्टाछुट्टै फ्रिजमा राख्न र फोहर राखिएको भाडा छोप्न अनुगमन टोलीले निर्देशन दिएको छ । साथै होटल सञ्चालकलाई सम्पूर्ण कागजात लिइ २०७९ फागुन १५ गते जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।