२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

कवाडी कर संकलनको विरोध गर्दै व्यवसायी आन्दोलित 

शुक्रवार , माघ २७, २०७९

  • 6.1K
    Shares
  • 6.1K
    Shares
  • भैरहवा, २७ माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कवाडी वस्तुमा लगाएको करको विरोध गर्दै नेपाल पुनः प्रयोगयोग्य वस्तु व्यवसायी संघ आन्दोलनमा उत्रिएको छ । संघले निकालेको विरोध कार्यक्रममा व्यवसायीहरु भैरहवाको बुद्धचोकबाट र्यालीसहित सिद्धार्थनगर नगरपालिका परिसरमा पुगेर नाराबाजी गर्दै धर्नामा बसेका छन् । 

    व्यवसायीहरुले नगरपालिकाले आफूहरुसँग कुनै पनि समन्वय नगरी एकलौटी ढंगले कवाडजन्य व्यवसायमा कर लगाउने टेण्डर आव्हान गर्दै कर लगाएपछि आफूहरु आन्दोलित हुनुपरेको संघका अध्यक्ष भगवती जयसवालले जानकारी दिए । उनले वर्तमान विषम परिस्थिति तथा आर्थिक मन्दीको मारमा परेका बेला स्थानीय सरकारले दोहोरो कर नीति लागू गरेको भन्दै उक्त निर्णय सच्याउन माग गरेको बताए । 

    नगरपालिकामा व्यवसाय गरेवापतको कर बुझाउँदै आइरहेको बेला कवाडजन्य वस्तुमा पुनः कर लगाएर आफूहरुमाथि थप समस्या निम्त्याएको संघका कोषाध्यक्ष तथा राहुल स्टील एण्ड हार्डवेयर सप्लायर्सका प्रोप्राईटर रामभरोश शाहले उल्लेख गरे । उनले कबाड उठाउने जिम्मा लिएको एस.एस ईन्टरप्राईजेजका व्यक्तिहरुले पसलमा आएर अनावश्यक दुःख दिने गरेका कारण आफूहरु असुरक्षित भएको समेत बताए । 

    नगरपालिकाले भने स्थानीय सरकार सञ्चालन ऐन २०७४ र सिद्धार्थनगर नगरपालिकाको आर्थिक ऐन २०७९ अनुसार कवाडी कर संकलन गर्न ठेक्का लगाउने नीति लिएको बताएको छ । 

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले कवाडीजन्य  व्यवसायलाई व्यवस्थित गर्नका लागि कर लगाएको बताए । उनले यसले शहरलाई सुन्दर बनाउनका लागि पनि थप सहयोग गर्ने उल्लेख गरे ।  

    नगरपालिकाले सिद्धार्थनगर नगरपालिका क्षेत्रभित्र संकलन हुने कवाडजन्य सामग्रीमा आर्थिक ऐन २०७९ मा तोकिएको दररेट तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६१ अनुसार कवाडी सामग्री संकलन तथा व्यवसायिक उपयोग गरेवापत फर्म तथा संस्थाहरुसंग कवाडी कर संकलन गर्ने गरी नगरसभाबाट पारित गरेको जनाएको छ ।

    नगरपालिकाले एस.एस ईन्टरप्राईजेज ओमसतिया–२ सँग कवाडी कर संकलन गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।