
शुक्रवार , माघ २७, २०७९
भैरहवा, २७ माघ ।
सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले आफ्नो स्थापनाको २५ औं वार्षिक उत्सव मनाएको छ । रूपन्देहीको भैरहवामा निर्माणसम्पन्न गरी सञ्चालनको अन्तिम तयारीमा रहेको पाँचतारे स्तरको सिद्धार्थ इन्टरनेशनल होटल परिसरमा औपचारिक कार्यक्रम आयोजना गरेर २५ औं वार्षिक उत्सव मनाएको हो ।
२५ औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मुलुकको पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रले महत्वपूर्ण योगदान पुर्याएको बताए । अर्थतन्त्र विकासको मुख्य आधार पर्यटन क्षेत्र भएको बताउँदै मुख्यमन्त्री गिरीले निजी क्षेत्रले यसतर्फ खेल्दै आएको भूमिकाको प्रशंसा गरे । उनले प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधारसँगै पर्यटन क्षेत्रलाई पनि मुख्य प्राथमिकतामा राखेर काम गर्दै आएको जानकारी दिए ।
पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले सिद्धार्थ समूहले आर्थिक तथा पर्यटन विकासमा अनुकरणीय तथा उल्लेखनीय कार्य गर्दै आएको बताए । उनले पर्यटन उद्योगले आर्थिक विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेकाले व्यवसाय संचालनका अनुकुल वातावरण सिर्जना गर्ने कुरालाई आफूले सधै प्राथमिकतामा राखेको बताए ।
त्यस्तै पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सिद्धार्थ समूहले पर्यटन क्षेत्र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रशंसा गरे ।
ग्रुपका अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपानेले आफ्नो जन्मभूमि गुल्मीबाट आएर भ्रमण बर्ष १९९८ को सन्दर्भ पारी वि.स. २०५४ माघ २३ गते टीकापुरमा खाजा पसलका रुपमा सुरु गरेको व्यवसाय पाँचतारे होटलसम्म आइपुग्नुमा सबैको साझा मिहिनेतको प्रतिफल रहेको बताए । अन्य व्यवसायीलाई पनि नेपाल पर्यटनको प्रचुर सम्भावना भएको देश भएकाले परिणामको आशा राखेर निराश नभइ मिहिनेत गर्न उनले सुझाव पनि दिए ।
२५ औं वार्षिक उत्सवको अवसरमा प्रत्येक महिना लक्की ड्र गरेर हरेक शाखामा एकजना ग्राहकलाई २५ वर्ष अघिकै सुरुवाती मूल्य बराबर रू. १ सयमा होटलको रुम उपलब्ध गराउने छ । त्यस्तै साताभरी देशैभरका शाखामा कतिपय प्याकेज मूल्यमा २५ प्रतिशतसम्म छुट दिने लगायत सरसफाइ तथा स्वास्थ्य सिविर, वृद्धाश्रममा निःशुल्क भोजन लगायतका कार्यक्रमहरू समेत राखिएका छन् ।
समूहका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेका अनुसार सिद्धार्थ समूहका होटल, रिसोर्ट र क्याफे, आईटी, कृषि, ट्रेडिङ्, होटल व्यवस्थापन एकेडेमी गरी ३२ कम्पनी पुगेका छन् । न्यौपानेकाअनुसार जुम्लाको ताम्रा, इलामको कन्याम चियाबगान, कैलालीको धनगढी र कास्कीको पोखरामा समेत होटल तथा रिसोर्ट सञ्चालन गर्ने योजना रहेको छ । समूहका सम्पूर्ण शाखामा गरी हाल १ हजार ६ सय जनाले रोजगारी पाएका छन् ।
कार्यक्रममा देशभर सिद्धार्थले सञ्चालन गरेका होटल तथा रेष्टुरेण्टमा कार्यरत कर्मचारीहरूमध्येबाट विभिन्न विधा र शाखाका उत्कृष्टहरूलाई नगद राशी र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेहरूमा इम्प्लोइ अफ द इयरमा कृष्ण कुमारी पुन, म्यानेजर अफ द इयरमा उत्तम खत्री, फाइनान्स विभागका प्रमुख, फूड एण्ड बेभरेज उत्पादन प्रमुख मंगल डगौरा, फूड एण्ड बेभरेज सेवा प्रमुख बाशुदेव तिमल्सिना, फ्रन्ट डेस्क प्रमुख प्रकाश भट्ट, सेल्स एण्ड मार्केटिङ विभाग प्रमुख नवीन भट्ट रहेका छन् । त्यस्तै भ्यू होटल सिद्धार्थ नेपालगञ्ज उत्कृष्ट होटलका रुपमा पुरस्कृत भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij