२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

अर्थमन्त्री पौडेल र युएसएआईडीका प्रशासक सामन्था पावरबीच शिष्टाचार भेटघाट

बुधवार , माघ २५, २०७९

काठमाडौं, २५ माघ ।
अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी)का प्रशासक सामन्था पावरले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग शिष्टाचार भेटघाट गरेका छन् । गत वर्ष दुई देशबीचको कुटनीतिक सम्बन्धको ७५‌औं वर्षगाँठ मनाइएको स्मरण गर्दै अर्थमन्त्री पौडेलले द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर तुल्याउने प्रतिबद्धता व्यक्त गरे ।

नेपालले सन् १९५१ मा प्वाइन्ट फोर प्रोग्रममा हस्ताक्षर गरेपछि पहिलोपटक वैदेशिक सहायता प्राप्त गरेको र हालसम्म आइपुग्दा हाम्रा दुई देशबीचको विकास साझेदारीले नयाँ उचाइ प्राप्त गरेको युएसएआइडीमार्फत विस्तार भएको जी टु जी सहयोग प्रमाण भएको उनको भनाइ छ । 

अर्थमन्त्री पौडेलले विकसित देशहरुले अपनाएको कसिलो मौद्रिक नीतिले नेपाल जस्ता कम विकसित देशको अर्थतन्त्रको सुधारको गतिलाई सुस्त बनाएको र यसमाथि विश्वको साझा समस्याको रुपमा रहेको जलवायु परिवर्तनले अरु बोझ थपेको धारणा व्यक्त गरे ।

नेपालको सार्वजनिक वित्त प्रणालीलाई विश्वास गरेर सिधै सरकारको कोषमा सहायता प्रदान गर्ने अमेरिकी सरकारको नीतिको प्रशंसा गर्दै उनले नेपालले सन २०२२ को मे मा युएसएआईडीसँग द्विपक्षीय सहायता सम्झौतामा हस्ताक्षर गरेपछि आगामी पाँच वर्षमा कुल अमेरिकी डलर ६५९ मिलियन बराबरको अनुदान सहायता नेपालको बजेट प्रणालीमार्फत उपयोग गर्ने बताए । 

युएसएआईडी प्रशासक सामन्था पावरले नेपालमात्र जी टु जी सहायता प्राप्त सहायता परिचालन गर्ने देश भएको जानकारी दिए । 

अर्थमन्त्री पौडेलले २०७२ सालमा नयाँ संविधान जारी भएसँगै जनताको मौलिक हकहरुको प्रत्याभूति गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना लिएर विकासको पथमा अघि बढिरहेको बताए । उनले लोकतन्त्रलाई संस्थागत गर्दै जनताको जीवन पद्धतिसँग आवद्ध गर्न सफल भएको साथै भर्खरै तीन तहका निर्वाचनहरु सफलतापूर्वक सम्पन्न गरेको पनि जानकारी गराए ।सो अवसरमा सहायताका अतिरिक्त वैदेशिक निजी क्षेत्रको लगानी उपयोग गरी नेपाल जलश्रोत विकासका क्षेत्रमा दक्षिण एशियामै क्लिन इनर्जीको स्रोत बन्न सक्ने सम्भावना रहेको बताए ।

भेटघाटका अवसरमा द्विपक्षीय विभिन्न मुद्दाहरुमा पनि छलफल भएको थियो । सो अवसरमा नेपालका लागि अमेरिकी राजदूत, युएसएआईडी नेपालका मिसन डाइरेक्टर लगायतको उपस्थिति थियो ।