भैरहवा, २४ माघ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले अर्थतन्त्रको मुख्य पाटो पर्यटन भएको र पर्यटनले महत्वपूर्ण जिम्मेवारी लिने बताएका छन् । उनले आउने दिनमा पर्यटन क्षेत्रमा मुलुकका धेरै नागरिकहरु सामेल हुने बताए ।
सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रा.लि.को २५ औं वार्षिक उत्सव समारोहलाई सोमबार भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले युवा र मिहिनेती जनताले पर्यटन क्षेत्रका कामलाई अगाडि बढाउनुहुन्छ भन्ने कुरामा आशावादी रहेको बताए ।
‘हामी कृषिमा आधारित रहेका अर्थतन्त्रका बासिन्दा हौं । केही वर्ष अगाडि नेपालले खाद्यान्न विदेशमा निर्यात गरे पनि अहिले किनेर खाने बेलामा आएका छौं, उनले भने, ‘हाम्रा धेरै युवाहरु विदेशमा हुनुहुन्छ । ’
सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रा.लि.को मिहिनेतले सफलतापूर्वक यहाँसम्म अगाडि बढेको उनको भनाइ थियो । मुख्यमन्त्री गिरीले सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटी प्रा.लि. ले लुम्बिनी नजिक तथा भारतीय सीमा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक महत्वपूर्ण स्थानमा पाँचतारे होटल सञ्चालन गर्न लागेको बताए । उनले भने, ‘यसले निश्चित रुपमा राम्रो भूमिका तथा जिम्मेवारी बहन गर्ने कुरामा कुनै दुविधा छैन् । पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि रात्रीकालिन बजारको आवश्यकताको बारेमा प्रदेश सरकारले पनि महसुस गरेको छ ।’ रातीमा पसल तथा होटलहरु खुल्न थालेको उनले बताए ।
मुख्यमन्त्री गिरीले होटल स्थापित गर्ने सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रा.लि. बधाईको पात्र भएको र यसले निजी क्षेत्रको तर्फबाट मुलुकलाई पनि महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रशंसा गरे । उनले भने, ‘धेरै कम्पनी देखेका छौं, प्रगतिको इतिहास हेर्दा र उनीहरुको कामको सिलसिला हेर्दा जसले सानो कामबाट मिहिनेत गरेर दिनप्रतिदिन त्यसलाई बढाउँदै जान्छ तथा त्यसमा तपस्याका साथ लाग्छ, मिहिनेत गरेर समर्पित भएर, हरेक कुराको हिसाब गरेर अगाडि बढ्छ, ती कम्पनीहरुले प्रगतिको शिखर चुमेका छन् । ’
त्यस्तै पूर्व गृहमन्त्री बालकृष्ण खाणले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रा.लि.ले अनुकरणीय तथा उल्लेखनीय कार्य गर्दै आएको बताए । उनले पछिल्लो समय आफू गृहमन्त्री हुँदा पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि राती १२ बजेसम्म रेष्टुरेण्ट तथा पसल खोल्न पाउनुपर्छ भन्ने नीतिगत तथा मन्त्रीपरिषद्बाट निर्णय गराएको बताए । उनले भने, ‘नेपालमा १० बज्नेबित्तिकै रेष्टुरेण्ट तथा पसल बन्द गर्ने चलन थियो । जसका कारण राती पुग्ने पर्यटकलाई खाना खान समेत समस्या थियो । ’
त्यस्तै निश्चित शर्त पूरा गरी स्थानीय प्रशासनको अनुमति लिइ २४ सैं घण्टा रेष्टुरेण्ट तथा भोजनालय खोल्न पाइने उनले बताए । भैरहवामा ब्लयाक फरेष्ट २४ सैं घण्टा सञ्चालन हुँदै आएको पूर्व गृहमन्त्री खाँणले बताए ।
पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रा.लि.ले पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोग पुर्याएको बताए ।
सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटी प्रा.लि.का अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपानेको अध्यक्षता तथा सञ्चालक समितिका सहसचिव इन्द्रलाल (महेन्द्र) न्यौपानेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । २५ औं वार्षिक उत्सवको अवसर पारेर सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रा.लि.ले विभिन्न विधामा विभिन्न शाखाहरुलाई सम्मान गरेको थियो ।
२४ वर्षमा २४ प्रतिष्ठान बनाइसकेको यो समूहले व्यवसाय सुरु गरेको २५ वर्ष पुग्न लाग्दा भैरहवामा पाँचतारे सिद्धार्थ इन्टरनेशनल होटल सञ्चालनको तयारीमा रहेको छ । भैरहवा अञ्चलपुर चोकबाट २ सय मिटर पश्चिमतर्फ मायादेवी गाउँपालिका वडा नम्बर ८ मा अवस्थित सिद्धार्थ इन्टरनेशनल होटल ४ विघा क्षेत्रफलमा फैलिएको छ । डिलक्स, एक्ज्यूकेटिभ स्वीट, स्वीट र प्रेसिडेन्ट स्वीट गरी चार स्तरमा वर्गीकरण गरिएका जम्मा ८५ कोठा रहेको गु्रपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण प्रसाद न्यौपानेले बताए । होटलमा लबि लाउन्ज, अल डे डाईनिंग, उत्तरतर्फ धवलागिरी हिमश्रृखंला देखिने रुफ टफ रेष्टुरेण्ट तथा स्विमीङ पुल, फिटनेस, स्पा, साउन, ज्याकुजीसहितको हेल्थ क्लव सेवा, गार्डेन, १२ हजार स्कवायर फुटको ठुलो सभा हल, ३ वटा कन्फ्रेन्स हल र एक मिटिङ हल होटलमा रहेको र क्यासिनोसमेत सञ्चालन हुने गरी तयारी भइरहेको न्यौपानेले बताए । साढे २ अर्ब लगानी बढीको होटल सञ्चालनमा आउँदा ३ सय जनाले प्रत्यक्ष रोजगारी पाउने उनले बताए ।