२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

खाद्य स्वच्छताका आधारमा होटल तथा रेष्टुरेण्टको स्तरीकरण

सोमवार , माघ २३, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, २३ माघ ।
    खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाले खाद्य स्वच्छताका आधारमा होटल तथा रेष्टुरेण्टको स्तरीकरण सुरु गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छताको आधारमा होटल तथा रेष्टुरेण्ट स्तरीकरण गर्ने निर्देशिका जारी गरेबमोजिम निर्देशिकाको परिधिभित्र रहेर खाद्य स्वच्छताको मापदण्ड (चेकलिष्ट) को आधारमा अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाका प्रमुख विमल कुमार दाहालले बताए । उनले कार्यालयबाट खटिएका निरीक्षकद्वारा अनुगमन/निरीक्षण पश्चात परिणामको आधारमा होटल तथा रेष्टुरेण्टमा पुगेर स्टीकर टाँसिएको बताए ।

    IMG_6182.JPG

    उनले भने,‘स्टीकर हेरेर स्वच्छ खानेकुरा कहाँ पाउन सकिन्छ भन्ने कुराको जानकारी उपभोक्ताले पाउन सक्नुहुन्छ । ’ अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरी चारवटा स्तर निर्धारण गरिएको दाहालले जानकारी दिए । हालसम्म २५ वटा होटल तथा रेष्टुरेण्टको अनुगमन गरिएकोमा एउटा होटल मात्र अतिउत्तम निर्धारण गरिएको उनको भनाइ छ । १०० पूर्णांकमा मुल्यांकन गर्दा ९० भन्दा माथि अंक प्राप्त गर्ने होटल तथा रेष्टुरेण्टलाई तीनवटा तारा भएको (क वर्ग) को हरियो स्टीकर (अतिउत्तम), ८० देखि ८९ सम्म अंक प्राप्त गर्नेलाई दुईवटा तारा भएको (ख वर्ग)को हरियो स्टीकर (उत्तम), ६५ देखि ७९ सम्म ल्याउनेलाई एउटा तारा भएको हरियो स्टीकर तथा ६५ भन्दा मुनी र ५० भन्दा माथि अंक प्राप्त गर्ने होटल तथा रेष्टुरेण्टमा पहेलो स्टीकर टाँसिएको कार्यालय प्रमुख दाहालले जानकारी दिए । स्वच्छताको आधारमा ५० वटा बुँदामा प्रत्येक बुँदाको २ नम्बरको हिसाबले १०० पूर्णांकको आधारमा चारवटा श्रेणीमा स्तरीकरण गरिएको उनले बताए ।

    उपभोक्तालाई खाद्य स्वच्छताका आधारमा छनौट गर्न पाउने अधिकार रहेकोले होटल स्तरीकरण मुल्यांकन गरिएको उनले बताए । उनले भने, ‘स्टीकर सेवाग्राहीले देख्ने ठाउँमा टाँस्छौं । ’

    त्यसै गरी अतिउत्तम र उत्तम स्तरको स्टीकर प्राप्त गर्ने होटल तथा रेष्टुरेण्टका सञ्चालकलाई प्रतिवद्धतापत्रमा हस्ताक्षर गराएर प्रतिवद्धतापत्र ती होटल तथा रेष्टुरेण्टमा राखिएको उनले बताए । स्वच्छताको सुधार गर्न होटल÷रेष्टुरेण्ट स्तरीकरणले सहयोग पुर्याउने उनको भनाइ छ ।

    स्टीकर टाँस्ने कार्यक्रममा सिद्धार्थ होटल एशोसियशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय उपमहासचिव राजेश महोत्रा लगायतको उपस्थिति रहेको थियो ।

    IMG_6148.JPG