२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

१० औं नवयुवा कप फुटबल प्रतियोगिता–२०७९ माघ २३ देखि

आइतवार , माघ २२, २०७९

भैरहवा, २२ माघ ।
नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार ओमसतिया गाउँपालिका–१ ठुटीपीपल, रुपन्देहीको आयोजनामा माघ २३ गते (भोलि)देखि रुपन्देहीमा १० औं नवयुवा कप फुटबल प्रतियोगिता–२०७९ हुने भएको छ । ओमसतिया–२ स्थित कर्मडाडाको खेलमैदानमा हुने प्रतियोगिताबारे आयोजक संस्थाले शनिबार ठुटीपीपलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

नवयुवा खेलकुद तथा साँस्कृतिक परिवारका अध्यक्ष चन्द्र बहादुर गुरुङले प्रतियोगिता नकआउटको आधारमा सञ्चालन गरिने बताए । उनले प्रतियोगिताको मुख्य प्रायोजक ओमसतिया गाउँपालिका र सह–प्रायोजक ओमसतिया गाउँपालिका १ नम्बर वडा कार्यालय रहेको जानकारी दिए ।

प्रतियोगिताका आर्थिक संयोजक दिल बहादुर गुरुङले प्रतियोगिता सञ्चालन गर्न १० लाख २० हजार रुपैयाँ खर्च हुने बताए । उनले प्रतियोगितामा प्रथम हुनेलाई रु. २ लाख र द्वितीय हुनेलाई रु. १ लाख पुरस्कार प्रदान गरिने जानकारी दिए । फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा रुपन्देही जिल्ला बाहिरका ५ र जिल्लाभित्रका ११ गरी १६ वटा टीमको सहभागीता रहने गुरुङले जानकारी दिए । प्रतियोगिताबाट हुने आम्दानी सामाजिक क्षेत्रमा खर्चिने उनले बताए । प्रतियोगिता महोत्सवको रुपमा लिइएको उनले बताए । उनले भने, ‘प्रतियोगिता सञ्चालन गर्न ओमसतिया गाउँपालिका वडा नम्बर १ मा रहेका वित्तीय संस्था, वडाबासी, स्वदेश र विदेशमा रहनुभएको खेलाडी लगायतबाट सहयोग पाएका छौं ।’

कार्यक्रममा बोल्दै ओमसतिया गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष बेल बहादुर बराल मगरले नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार नाफामूलक नभइ सेवाको भावनाले अघि बढेको बताए । उनले संस्थालाई अघि बढाउन साथ र सहयोग गर्न आग्रह गरे । उनले १० औं नवयुवा कप फुटबल प्रतियोगिता–२०७९ आयोजना हुनु खुसीको कुरा भएको बताए ।

नवयुवा खेलकुद तथा साँस्कृतिक परिवारका अध्यक्ष चन्द्र बहादुर गुरुङको अध्यक्षता, ओमसतिया–१ का वडाअध्यक्ष बेल बहादुर बराल मगरको प्रमुख आतिथ्यता, ओमसतिया–१ का वडा सदस्य विनोद प्रसाद घिमिरेको विशिष्ट आतिथ्यता, नवयुवा खेलकुद तथा साँस्कृतिक परिवारका संस्थापक अध्यक्ष भीम बहादुर पुनको स्वागत तथा सचिव प्रदिप घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेशनल रेफ्री अमर पुनले प्रतियोगिताको नियमबारे जानकारी गराएका थिए ।