२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

‘केही सहकारी सञ्चालकको मनपरीले बचतकर्ताको रकम जोखिममा’

शनिवार , माघ २१, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • बुटवल, २१ माघ ।
    पछिल्लो समय रुपन्देहीमा रहेका केही सहकारीहरु संकटमा फस्दै गएको पाइएको छ । रुपन्देहीको बुटवलमा रहेको शिव शिखर, सुप्रिम, आगन्तुक सहकारीहरुमा हाल बचतकर्ताहरुले रकम निकाल्न नपाएको समस्या बाहिर आएको छ ।

    लुम्बिनी प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष टिकाराम पोखरेलले प्रदेशमा सञ्चालनमा आएका केही सहकारीहरुमा समस्या देखिएकोले सरकार कानूनी प्रक्रिया अगाडि बढाएको बताए । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश बुटवलले सहकारी क्षेत्रमा देखिएका समस्या र समाधान विषेयक शुक्रवार आयोजना गरेको साक्षात्कारमा बोल्दै पोखरेलले सहकारीको मर्म भन्दा बाहिर बचतकर्ताको रकममा सञ्चालकहरुको चलखेल गर्दा यस्तो समस्या देखिएको बताए ।

    उनले बर्दियाको नमस्ते बहुउद्देश्यीय सहकारी संस्थाले आफूखुसी लगानी गर्दा समस्या आएको उदाहरण दिदै सहकारीमा देखिएको समस्यालाई तीन तहका सरकारको सक्रियताले मात्र समाधान गर्न सकिने बताए । उनले भने, ‘त्यसका लागि हामीहरु गृहकार्यमा छौ, छिट्टै देखिने गरी काम गर्नेछौं ।’

    कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी रजिष्ट्रार भीम प्रसाद तिवारीले सहकारीमा सुशासन नभएको अनुभव सुनाउँदै आफू आएको २ महिनामा ५० भन्दा धेरै सहकारीमा प्रत्यक्ष  पुगेर कतिपय सहकारीलाई सुधार गर्न निर्देशन दिएको यद्यपी नमानेमा कानुनी दायरमा ल्याइने खबरदारी गरेको सुनाए । सहकारी मूल्य मान्यता पालना नगरेको, गलत लेखापरीक्षण गरी सहकारी चलाएको जस्ता कारणले पछिल्लो समय सहकारीमा समस्या देखिएको बताए । उनले केही सहकारी उत्पादनमुलक काम गर्नु साटो पैसाको किनबेचमा लागेको सहकारी समस्याग्रस्त देखिएको बताए ।

    प्रदेश बचत तथा ऋण सहकारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण नेपालले समुदायमा आधारित सहकारीमा समस्या नभएको दावी गर्दै कारोबारी सदस्य बनाएका सहकारीहरुमा समस्या रहेको सत्यता प्रष्ट्याए । अध्यक्ष नेपालले भने, ‘२०६४ सालमा बुटवलमा रहेको स्वर्णिम सहकारीमा पनि आर्थिक अपारदर्शीता कारण यस्तै समस्या हामीकहाँ आयोे । हामीले त्यसको बारेमा अनुगमन गरी नागरिकको पैसा फिर्ता गर्नतर्फ सफल भयौं । ’ त्यसैले अहिले बजारमा आएको समस्या हल गर्न कुनै काम बाँकी नराख्ने भन्दै सहकारी सञ्चालकलाई यथाशिघ्र समस्या समाधानमा लाग्न आग्रह गरे ।

    राष्ट्रिय सहकारी बैंकको सञ्चालक सदस्य माधवलाल देवकोटाले सहकारी संस्थाले कारोबारी सदस्य बनाएका कारण समस्या निम्तिएको जनाउँदै वित्तीय अनुशासन पालना नहुँदा, अनुपातमा बचत संकलन गरी ऋण एकल रुपमा बढी गरेकाले सहकारीहरु धरापमा पर्न थालेको बताए ।  उनले सहकारी सञ्चालनका लागि बाहिरी ऋण लिने चलन रहेको र क्षमता भन्दा बढी रकम संकलन गरी उक्त रकम बाहिर लगानी गरेको पैसा नउठेपछि बचतकर्ताहरुलाई फिर्ता गर्न नसकेको रहस्य खुलाए ।

    जिल्ला सहकारी संघ रुपन्देही अध्यक्ष भीम तुलाचनले सहकारीमा सरलीकरण र सहजीकरण नहुँदा र आर्थिक सुशासन कार्यान्वयन नहुँदा सहकारीमा बेथिति भएको बताए । जसले गर्दा नागरिकको पैसा जोखिममा पर्न नदिनको लागि अब आफूहरु चुप लागेर नबस्ने बताए ।

    बुटवल उपमहानगरपालिका सहकारी शाखा प्रमुख गुणाखर खनालले उपमहानगरमा दर्ता भएका १ सय ३६ वटा सहकारीमा कुनै समस्या नभएको जिकिर गर्दै ७५ वटा प्रदेश मातहतका गरी २ सय ११ वटा रहेको वताए । प्रमुख खनालले उपमहानगरमा ६० हजार शेयर सदस्य रहेको र ७ अर्ब ४० करोड लगानी भएको समेत जनाए ।

    कृषि बहुउद्देश्य सहकारी १२ वटा ग्रामीण क्षेत्रमा रहेको जनाउँदै बजार क्षेत्रमा कुनै सहकारी दर्ता नगरेको उल्लेख गरे ।
    साक्षात्कारमा बोल्दै तिलोत्तमा सहकारी संघका प्रमुख कृष्ण पाण्डेले तिलोत्तमा नगरभित्र रहेका सहकारीहरुमा कुनै समस्या नभएको दावी गरे ।

    साक्षात्कार कार्यक्रमा शिव शिखर सहकारीबाट पीडित बनेका यज्ञ सापकोटाले नियमन निकायमाथि आक्रोश पोख्दै सहकारीहरुले यसैगरी नागरिकको पैसा नदिएमा प्रेम प्रसाद आचार्य जस्तै गरी सहकारी कार्यालय अगाडि गएर धेरैले आत्मदाह गर्न बाध्य हुने दिन आउन सक्ने बताए । उनले आफुले १० हजार रुपैयाँ समेत निकाल्न महिना दिनदेखि धाउँदा पनि नपाएको भन्दै सो सहकारी एउटा अपार्टमेन्ट सञ्चालन गरेको र पैसा लिन जानेहरुलाई सामान हात लगाइने गरेको बताउँदै बजार मूल्यभन्दा अत्यधिक कालोबजारी मुल्यमा लादेको आरोप लगाए । 

    नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार दिनेश पाण्डेले काठमाण्डौं मोडेल नामको बुकलेट शुत्र अनुसार चल्दा केही सहकारीहरुले नागरिकको पैसा जोखिममा रहेको स्पष्ट पारे । उनले सहकारीहरुमा बेथितिहरु नियन्त्रण गर्न छिट्टै कार्यदल गठन गरी समस्याको समाधान गर्न सुझाव दिए ।

    लुम्बिनी प्रदेशमा २०७७ को तथ्यांकअनुसार ३ हजार ७ सय ५५ सहकारीले ४२ अर्ब लगानी, ६० अर्ब निक्षेप र ६ अर्ब सेयर पुँजी रहेको छ । त्यसयता अझै अद्यावधिक भएको छैन् । कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।