images

बिहिवार, बैशाख २० गते २०८१

ईट्टा उद्योगलाई धरासायी हुनबाट जोगाउन विशेष प्याकेज ल्याउन माग

ईट्टा उद्योगलाई धरासायी हुनबाट जोगाउन विशेष प्याकेज ल्याउन माग

images
images
images
शनिवार, माघ २१ २०७९
शनिवार, माघ २१ २०७९
  • ईट्टा उद्योगलाई धरासायी हुनबाट जोगाउन विशेष प्याकेज ल्याउन माग

    भैरहवा, २१ माघ । ईट्टा उद्योगीहरुले ईट्टा उद्योगहरुलाई धरासायी हुनबाट जोगाउन र यसको संरक्षणका लागि स्थानीय, प्रदेश र संघ सरकारबाट कर प्रणालीमा विशेष छुट तथा राहत प्याकेजको कार्यक्रम ल्याउन माग गरेका छन् । उनीहरुले मुलुकको वर्तमान आर्थिक परिवेशले ईट्टाको मागमा कमी आउँदा हाल देशैभरीका सम्पूर्ण उद्योगहरु संकटग्रस्त अवस्थामा रहेको बताएका छन् ।

    images
    images
    images

    लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीको २४ औं वार्षिक साधारणसभा बोल्ने उद्योगी व्यवसायीहरुले सरकारको उद्योगको संरक्षणमा ध्यान नदिदा उद्योग नै विस्थापित हुने अवस्थामा पुगेको गुनासो गरे ।

    रुपन्देहीको सियारी गाउँपालिकास्थित श्री बाउन्नकोटी सामूदायिक वनमा शुक्रबार भएको साधारणसभामा बोल्दै नेपाल ईट्टा उद्योग व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार हरि प्रसाद अधिकारीले अत्यन्तै कठिन अवस्थाका बीच उद्योग सञ्चालन भएको बताए । उनले भने, ‘काँचो ईट्टाको बीमा हुँदैन, जसका कारण वर्षेनी बैमौसमी वर्षाका कारण उद्योगीले नोक्सानी व्यहोर्दे आएका छन् । ’

    सिद्धार्थनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख समेत रहेका अधिकारीले भाषणले मात्र नहुने भएकाले उद्योगीका माग सम्बोधन गर्नका लागि आन्दोलनमा जानुको विकल्प नभएको बताए ।

    त्यस्तै नेपाल ईट्टा उद्योग व्यवसायी महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष सफर मिया अन्सारीले राज्यको अपारदर्शी नीतिका कारण ईट्टा उद्योग धरासायी हुँदै गएको बताए । उनले राज्य उद्योग–व्यवसायमैत्री बन्न नसकेको गुनासो गरे ।

    रुपन्देही उद्योग संघका उपाध्यक्ष जीवकान्त काफ्लेले नेपालमा उद्योग सञ्चालनमा गर्नु भनेको फलामको चिउरा चपाउनु जस्तै भएको बताए । उनले उद्योग सञ्चालन गर्नु राज्यको दायित्व भएको बताए ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले ईट्टा उद्योगीले कोइला विदेशबाट आयात गरिरहनुपरेको बताए । उनले उद्योगीलाई सहुलियत दरमा विद्युतको सुविधा उपलब्ध गराउनुपर्ने माग गरे ।

    चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)का अध्यक्ष अनिल कुमार ज्ञवालीले ईट्टा उद्योगले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउने प्रयास गरेको बताए । उनले बैंकको बढ्दो ब्याजदरविरुद्ध पुनः संघर्ष गर्नुपर्ने अवस्था आएको बताए ।

    लुम्बिनी प्रेस क्लब, रुपन्देहीकी अध्यक्ष सम्झना शर्माले ईट्टा उद्योगीको लगानी संरक्षण गर्न चुनौती बन्दै गएको बताइन् । उनले ईट्टा उद्योगी समस्यामा परेको बताइन् ।

    २४ औं वार्षिक साधारणसभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष अजय कुमार गुप्ताले समस्या तथा चुनौतीहरुको सामना गर्दै ईट्टा उद्योगीले प्रत्येक सिजनमा उत्पादन गरेको पाकेको ईट्टाबाट आजका दिनसम्म राष्ट्र ईट्टामा आत्मनिर्भर रहँदै आएको बताए । उनले नेपालमा प्रत्येक आर्थिक वर्षमा करिब अढाई अर्बदेखि ३ अर्ब ईट्टा उत्पादन हुँदै आएको जानकारी दिए । उनले भने, ‘सरकारी तथा निजी दुवै क्षेत्रमा ईट्टाको मागमा अत्याधिक कमी आउँदा उद्योगीहरु संकटमा छन् ।’

    ईट्टा उत्पादनका लागि भारत लगायत तेस्रो मुलुकहरुबाट आयात गरी ल्याइने कोइलाको अन्तर्राष्ट्रिय बजारमा भएको अभाव र हालै शतप्रतिशतले भएको मूल्यवृद्धिका साथै पेटोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण ईट्टा उत्पादनको लागतमा करिब ४० देखि ५० प्रतिशतसम्म वृद्धि र ईट्टाको मागमा कमी आउँदा सम्पूर्ण उद्योगहरु संकटग्रस्त रहेको उनको भनाइ थियो ।

    लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष अजय कुमार गुप्ताको अध्यक्षता, ईटा उद्योग महासंघका केन्द्रीय सल्लाहकार हरि प्रसाद अधिकारीको प्रमुख आतिथ्यता, संघका उपाध्यक्ष मिन बहादुर पुनको स्वागत तथा महासचिव दीपक पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij