
शनिवार , पौष ११, २०७७
परासी, ११ पुस ।
सुनवल नगरपालिकाका युवाहरुलाई कृषिमा स्वरोजगार बनाउन कृषि तथा पशु स्वास्थ्य तालिम संचालन गरिएको छ । नगरपालिकाका ६० जना बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन एसेप परियोजना संचालन गरी कृषिमा विभिन्न तहको तालिम संचालन गरिएको हो ।
नगरपालिकामा कृषि स्वरोजगारको लागि साझेदारी परियोजना (एसेप)मार्फत नगरपालिकाका ती ६० जना युवाहरुलाई सैद्धान्तिक तथा प्रयोगात्मक रुपमा तालिम प्रदान गरी कृषिमै आयआर्जन गर्न प्रोत्साहन गरिने गरी शनिबार उक्त तालिमको समुद्घाटन गरिएको हो ।
युरोपियन युनियनको आर्थिक सहयोग, ब्रिटिस काउन्सिलको व्यवस्थापन, दक्षता टिभिईटी व्यवहारिकको सहयोगमा देउराली जनता प्राविधिक शिक्षालय बुटवलले संचालन गरेको ११ महिने उक्त तालिमको सुनवल नगरपालिका नगरप्रमुख भिम बहादुर थापा क्षेत्री (भरत) एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।
देउराली जनता प्राविधिक शिक्षालय बुटवलको अध्यक्ष प्रकाश रानाको अध्यक्षता तथा नगरप्रमुख भरत थापाको प्रमुख आतिथ्यतामा भएको तालिम समुदघाटन कार्यक्रममा देशमा कृषिको अवस्था र यसको सम्भाव्यताबारे सिटिभिटी सुदुरपश्चिमका निर्देशक डा. कुश्माखर भट्टले प्रकाश पारेका थिए । उक्त तालिममा सुनवल नगरपालिका र दियालो कृषि सहकारी संस्था लिमिटेड सुनवल साझेदार संस्थाको रुपमा रहेको छ ।
तालिममा सहभागि नगरपालिकाका ती ६० जना युवायुवतीहरुले, सामुदायिक कृषि सहायक, सामुदायिक पशु स्वास्थ्य सहायक र कृषि जुनियर टेक्निसियन सहायक पदका लागि उक्त ११ महिने तालिम लिनेछन् । तालिममा ३ महिना सैद्धान्तिक र ८ महिना ओजेटिभ एवं प्रयोगात्मक रुपमा प्रशिक्षण दिइने तालिम प्रदायक संस्थाले जनाएको छ ।
नगरपालिकाको विभिन्न वडाबाट तालिमको लागि छनौटमा परेका ती ६० जनामध्ये २० जना सामुदायिक कृषि सहायक, २० जना सामुदायिक पशु स्वास्थ्य सहायक र २० जना कृषि जुनियर टेक्निशियन सहायकका लागि निःशुल्क रुपमा प्रशिक्षण दिइनेछ । कृषितर्फ प्रमुख प्रशिक्षक नर बहादुर खडका, हिरा बहादुर सेन, सहायक प्रशिक्षक सुस्मा राई रहेकी छन् भने पशु स्वास्थ्यतर्फ प्रमुख प्रशिक्षक बिमल ढकाल र सहायक प्रशिक्षक सुस्मा बमरेल रहेकी छन् ।
बेरोजगारी न्युनीकरण र रोजगारीको अवसर सिर्जना गरी समतामुलक र समावेशी आर्थिक विकास गर्ने यो तालिमको लक्ष्य रहेको छ । तालिमले कृषिमा रोजगारी तथा स्वरोजगारको अवसरहरु सिर्जना हुने, कृषि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुने, वैदेशिक रोजगारी निरुत्साहित गर्दै स्वदेशमै आर्थिक उपार्जन गर्न प्रोत्साहन गर्ने तालिमको उद्देश्य रहेको शिक्षालयका अध्यक्ष प्रकाश रानाले जानकारी दिए । यो परियोजना नवलपरासीसहित ८ जिल्लामा संचालित छ ।
तालिम समदुघाटन कार्यक्रममा नगरप्रमुख भरत थापाले तालिमका प्रशिक्षार्थीहरुलाई तालिम लिएपछि यसलाई आफनो व्यवहारमा उतार्न आग्रह गरे । उनले कृषि क्षेत्रको विकासले मात्रै सुनवल नगरमा समृद्ध नेपाल सुखी नेपालीको नारा पुरा हुने विश्वास व्यक्त गर्दै कृषि क्षेत्रमा रहेको अवसरलाई छोप्दै आर्थिक उपार्जनमा केन्द्रित हुन युवाहरुलाई सुझाव दिए । नगरपालिकाले नगरभित्र हुने कृषि उपजको बजार व्यवस्थापन गर्न, बिउबिजन, मलखादमा अनुदान र प्राविधिक सहयोग समेत गर्ने उनले विश्वास व्यक्त गरे । तालिमले नगरमा दक्षजनशक्ति बढने र प्रशिक्षार्थीले यसलाई व्यवहारमा उतार्दै कृषि पेशा अंगालेमा रोजगारीको सृजनासंगै उसको आर्थिकस्तर पनि मजबुद हुँदै जाने उनले बताए ।
कार्यक्रममा नगर उपप्रमुख दधिराम अर्यालले तालिमबाट कृषिमा दक्ष जनशक्तिको उत्पादन बढ्ने र कृषि उत्पादन पनि बढने विश्वास व्यक्त गरे । कार्यक्रममा त्रिभुवन युनिभरसिटीका उपप्राध्यापक डा. मुक्ति पौडेल, नगरपालिका वडा ३ का अध्यक्ष कर्ण बहादुर सेन, सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्य, प्रमुख प्रशिक्षक नर बहादुर खडका लगायतले प्रशिक्षार्थीहरुलाई तालिम लिइसकेपछि व्यवहारमा उतार्न आग्रह गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij