images

बुधवार, बैशाख १२ गते २०८१

फागुन २३ देखि कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला हुँदै

फागुन २३ देखि कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला हुँदै

images
images
images
सोमवार, माघ १६ २०७९
सोमवार, माघ १६ २०७९
  • फागुन २३ देखि कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला हुँदै

    भैरहवा, १६ माघ ।
    प्राचिन कपिलवस्तु राज्यका शाक्यहरुको सामूहिक बध गरेको बुद्धकालिन कपिलवस्तुको सगरहवामा आगामी फागुन २३ गतेदेखि कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला हुने भएको छ । लुम्बिनी विकास कोषले गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनी विश्व सम्पदामा सूचीकृत भएको २५ औं वर्षको अवसर पारेर सगरहवा क्षेत्रको पुरातात्विक महत्व उजागर गर्दै पर्यटन प्रर्वद्धन गर्ने गरी मूर्तिकला कार्यशाला गरिने भएको हो । 

    images

    सोमबार कोषले कपिलवस्तुका राष्ट्रियसभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्यसहित स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेता एंव सरोकारवालाहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरी सगरहवाको प्रचारप्रसार र प्रवद्र्धन गर्न प्राज्ञ कलाकारहरुबाट बौद्धकालिन चित्रण मुर्तिमा उतार्ने गरी कार्यशाला गर्ने निर्णय गरिएको हो । 

    अन्तरक्रिया कार्यक्रममा राष्ट्रियसभा सदस्य विमला घिमिरेले प्राचिन राजधानी र गौतमबुद्धले २९ वर्ष विताएको तिलौटाकोट दरबारसहित ७ वटा बुद्धका महत्वपूर्ण क्षेत्र भएर पनि ओझेलमा परेको बताइन् । उनले कपिलवस्तुको सगरहवा पुरातात्विक र ऐतिहासिक थलो भएकाले यहाँ हुने मूर्ति कार्यशालाले थप उर्जा थप्ने बताइन् । ‘कपिलवस्तु आफैमा खुल्ला संग्रालय हो,’ राष्ट्रियसभा सदस्य घिमिरेले भनिन–‘अब कपिलवस्तुका बौद्ध क्षेत्रहरुको विकास, अन्वेषणमा राज्यले ध्यान दिनुपर्छ ।’ 

    कार्यक्रममा कपिलवस्तु क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बलराम अधिकारीले गौतमबुद्धको घर र परिवार नै कपिलवस्तु राज्यमा बिताएकाले यो क्षेत्रको विकासमा कन्जुस्याई भइरहेको बताए । उनले विकास कोषले सगरहवाको पुरातात्विक र ऐतिहासिकता प्रदर्शन गर्ने गरी कार्यशाला गर्न लाग्नु सकरात्मक भएको भन्दै यसले कपिलवस्तुको बुद्धकालिन क्षेत्रको विकासमा टेवा पुग्ने बताए । 

    त्यस्तै कपिलवस्तु १ (१) बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले लुम्बिनीमा आउने लाखौं पर्यटकलाई मध्यनजर गरेर सगरहवामा बुद्धका विचार र सन्देश दिने गरी मूर्ति बनाउन आवश्यक रहेको बताए । उनले सगरहवा प्राचीन शाक्यहरुको राज्य रहेकाले यसको विकाससँगै त्यहाँको पुरातात्विक महत्व पनि आम नागरिकहरुलाई थाहा हुने बताए । प्रदेशसभा सदस्य पन्थीले सगरहवा अहिले पोखरी मात्रै रहेकाले त्यहाँ पर्यटकका लागि मूर्ति कार्यशालाले टेवा पुग्ने बताउँदै स्थानीयहरुलाई आम्दानीसँग पनि जोड्ने बताए । 

    शाक्यमुनी बुद्धको जीवनको उतारार्धतिर कोशाला राज्यका राजा विरुढकले प्रतिशोधका कारण कपिलवस्तु राज्यका शाक्यहरुको बध गरेको स्थानका रुपमा सगरहवालाई चिनिन्छ । संरक्षणबिहीन अवस्थामा रहेको र नजिकै मानवनिर्मित जगदीशपुर तालसँग जोड्दै पर्यटक आर्कषित गर्न स्थानीयहरुको समेत अपनत्व हुने गरी कार्यशाला गर्ने निर्णय गरिएको कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई (ढुण्डिराज) ले जानकारी दिए । उनकाअनुसार लुम्बिनी विकास कोष मूख्य आयोजक र कपिलबस्तु नगरपालिका आयोजक रहने गरी प्रारम्भिक तयारीका लागि कमिटीहरु गठन गरिएको छ । आगामी फागुन २३ गते फागू पूर्णिमादेखि चैत पूर्णिमासम्म एक महिनाको अवधी राखेर सगरहवाको ऐतिहासिक तथा बौद्धकालिन पुरातत्व झल्कने गरी मूर्ति निर्माण गरिने कोषाध्यक्ष भट्टराईले बताए । 

    कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले कपिलवस्तु आफैमा बौद्धकालिन सभ्यताले भरिपूर्ण रहेकाले मूर्ति कार्यशाला सम्पन्न गर्न आफूहरु सहयोग गर्न तयार रहेको बताए । उनले पुरातात्विक स्थलमा नगरपालिकाले निर्माणका कामहरु गर्न नसके पनि बाहिरी क्षेत्रलाई बुद्धमय बनाउने गरी काम गर्ने प्रतिबद्धता जनए ।

    कपिलवस्तुका स्थानीय एवं बौद्ध विषयका विज्ञ पोमनारायण पौडेलले सगरहवा शाक्य बंशको सामूहिक बध गरिएको र सम्झनामा सयौं स्तुपा निर्माण गरिएको चिनियाँ यात्रीहरुले यात्रा वर्णनमा उल्लेख गर्दै बताउँदै यो क्षेत्र बुद्धकालिन सभ्यताको प्रमाणका रुपमा रहेको बताए । सगरहवामा ३ हजार वर्षअघिका पुरातात्विक वस्तुहरुको संरक्षण गर्ने गरी विकास कोष र पुरातात्व विभागले काम गर्नुपर्ने बताए । मूर्ति कार्यशालाले सगरहवाको प्रचारप्रसारमा ठूलो सहयोग पुर्याउने बताउँदै दीर्घकालिन रुपमा यसको संरक्षण गर्ने गरी स्पष्ट योजना ल्याउन उनको सुझाव छ ।

    उनले कपिलवस्तुमा बुद्धकालिन अवस्थाका महत्वपूर्ण स्थलहरु रहेकाले यहाँको विकासका लागि छुट्टै प्राधिकरण आवश्यक रहेको बताए । सगरहवामा सन् १८९७ मा नेपाल सरकारको तर्फबाट डा. फुरहरद्वारा गरिएको उत्खनन अन्वेषणमा ठूलो र वर्गाकार स्तुपको चारै दिशामा ससना स्तुपा र १७ वटा ठूला स्तुपा एवं मुख्य स्तुपाभित्र हड्डी, सुन, चाँदी, क्रिस्टल तथा रुवी लगायतका सामाग्री भेटिएको थियो ।  

    कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कमल चुँदाली, जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य डा. अब्दुल रसिद खान, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गीता अञ्जान केसी, नेकपा एमाले कपिलवस्तुका अध्यक्ष डम्बर शर्मा, कपिलवस्तु नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष दीपक गुरुङ, नेपाली काँग्रेसका नेता देवेन्द्र कुमार पोख्रेल, राष्ट्रिय जनमोर्चाका नेता देवेन्द्र कुमार पोख्रेल, नेपाल ललितकला प्रज्ञ प्रतिष्ठानका प्राज्ञसभा सदस्य गोविन्द चौधरीले बोल्दै कार्यशालाले पर्यटन प्रवद्र्धन र सगरहवाको ऐतिहासिकताको प्रचार हुने बताए । 

    मूर्ति कार्यशाला अन्तर्गत पहिलो चरणमा छलफल गरिएको र आगामी दिनमा स्थानीय आमा समूह, सामुदायिक वन एवं सरोकारवाला सबै पक्षलाई समेटेर अगाडि बढ्ने लुम्बिनी विकास कोष कपिलवस्तु कार्यालयका प्रमुख माधव प्रसाद आचार्यले जानकारी दिए । कोषले कार्यशाला सम्पन्न गर्न कपिलवस्तुबाट निर्वाचित राष्ट्रियसभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्यहरुलाई संरक्षक, सबै राजनीतिक पार्टीका एक÷एक जना प्रतिनिधिहरुलाई सल्लाहकार र विज्ञहरुको छुट्टै कमिटी गठन गरेर तयारीमा जुट्ने जनाएको छ । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij