२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

मणिप्रभा सहकारी मर्जरमा जाने

शनिवार , पौष ११, २०७७

तिलोत्तमा, ११ पुस । 
मणिप्रभा बचत तथा ऋण सहकारी संस्था तिलोत्तमा–३ शंकरनगर अन्य सहकारी संस्थासँग मर्जरमा जाने भएको छ । संस्थाको शनिबार आयोजित ११ औं वार्षिक साधारणसभाले यसै वर्ष उपयुक्त सहकारी संस्थासंग मर्ज गर्ने प्रस्ताव पारित गरेको हो ।
यसका लागि मर्जर कमिटीलाई साधारणसभाले अनुमोदन गरेको सहकारीका कार्यवाहक अध्यक्ष मानबहादुर केसीले जानकारी दिए । 

साधारणसभाको उद्घाटन गर्दै सहकारीका संस्थापक अध्यक्ष दिनेश फुल्लेलले कोभिड–१९ ले अन्य क्षेत्र जस्तै सहकारी क्षेत्र पनि प्रभावित भएको भन्दै सहकारी संस्थालाई बलियो बनाउन पनि मर्जर आवश्यक भएको बताए । उनले मर्जरका लागि उपयुक्त संस्थाको  खोजी भइरहेको भन्दै अब मर्जर कमिटीले यसबारे गृहकार्य गरी थप प्रक्रिया अगाडि बढाउने बताए । उनले सदस्यहरुको हितलाई ध्यानमा राख्दै सहकारीले आर्थिक गतिविधि अगाडि बढाएको उल्लेख गर्दै यसबाट धेरै सदस्यहरु लाभान्वित भएको बताए ।

कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कार्यवाहक अध्यक्ष केसीले संस्थाले ल्याएका बचत योजनालाई प्रभावकारी ढंगले सञ्चालन गर्ने र नयाँ बचतका योजनाहरु ल्याइने बताए । 

कार्यक्रममा संस्थाका सल्लाहकार युवराज न्यौपाने, सचिव खगेश्वर भण्डारी, लक्ष्मण पाठक लगायतले ऋण र बचतलाई मात्र प्राथमिकतामा नराखी उत्पादन बढाउने दिशातर्फ प्राथमिकता दिन आग्रह गरेका थिए । साधारणसभाका अवसरमा संस्थाका ज्येष्ठ सदस्य उमाकान्त भण्डारी र भगवती बस्याललाई दोसल्ला ओढाइ प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।

२०६७ सालमा स्थापना भएको सहकारीको कुल शेयर पुँजी एक करोड २९ लाख ५६ हजार, निक्षेप संकलन ४ करोड ५१ लाख ८९ हजार ६१६ र ऋण लगानी ५ करोड ३६ लाख ४१ हजार ५०८ रहेको छ । साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक र लेखापरीक्षण प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।