भैरहवा, १२ माघ ।
‘सामाजिक कार्यका लागि खेल’ भन्ने मूल नाराका साथ रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तेस्रो खुल्ला ‘सी’ लेबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । लियो क्लब अफ भलवारी सिटीको आयोजनामा यही माघ २८ गते शनिबार तिलोत्तमा–१६ स्थित मधवलिया ब्याडमिन्टन हलमा उक्त प्रतियोगिता हुने क्लबका अध्यक्ष मधु भण्डारीले बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई रु. ३० हजार, द्वितीय हुनेलाई रु. २० हजार, तृतीयलाई रु. १० हजार तथा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक नितेश जयसवालले बताए । त्यस्तै उत्कृष्ट खेलाडी र उदयमान खेलाडीलाई पनि पुरस्कृत गरिने जयसवालले जानकारी दिए ।
प्रतियोगितामा दर्ता शुल्क वापत रु. २ हजार लाग्ने र २०७९ माघ २७ गते बिहान १० बजेसम्म नाम दर्ता गराउन सकिने प्रतियोगिताका सह–संयोजक अभिषेक कंवरले बताए ।
आयोजककाअनुसार राष्ट्रिय वरियताक्रमको खेलाडी तथा क्षेत्रीय, जिल्लास्तरीय, नगरस्तरीय तथा ‘बी’ लेबलमा प्रथम, द्वितीय र तृतीयलाई खेलमा समावेश गराइने छैन् । क्वाटर फाइनलसम्म पुग्ने खेलाडीलाई विशेष सम्मान गरिने आयोजकले जनाएका छन् ।