मंगलवार, माघ १७ गते २०७९
Logo

मंगलवार, माघ १७ गते २०७९

images

मुख ढाकेर तल नाङ्गै 

मुख ढाकेर तल नाङ्गै 

images
images
  • 349
    SHARES
  • मुख ढाकेर तल नाङ्गै 

    ‘हाँडी घोप्टे’ भनेको ल्वाङे कान्छोलाई थाहा थिएन सबैले हाँडी घोप्टे, हाँडी घोप्टे भनेको सुनेर उसलाई मनमा अनेकौ खुल्दुली उत्पन्न भयो तर उसलाई यसबारे जान्ने जिज्ञासा भएन भन्दा पनि आफु सानो भइन्छ भन्ने हीनता बोधले गर्दा चूप थियो ।

    ल्वाङे कान्छाका बाबुले घरबार चलाइरहेका थिए राम्रो नराम्रो मीठो नमिठो आफ्नो गच्छे अनुसार घरपरिवारलाई पालेकै थिए । खेतबारी पनि राम्रै थिए । ल्वाङे कान्छालाई बाबुको सुस्तिपन देखेर कहिले कहिं साह्रै झोंक चल्दथ्यो, भित्र भित्र मुरमुरिन्थ्यो । जोरीपारिको पारा देखेर उसलाई पनि केही न केही  गरौं भन्ने लागि रहेको थियो तर सबै हर्ता कर्ता उसका बाबु थिए ।

    एक दिन ल्वाङेका बाबु बिरामी भए, बुढा थिए स्वभाविक थियो । उसलाई बाबु बिरामी भएकोमा कुनै दुःख थिएन ..जोरीपारीका अगाडि दुःख देखाए पनि कहिले बुढो मर्छ र सबै व्यवहार मेरो हातमा आउँछ भन्ने दाउ ध्याउन्न थियो ।

    एक दिन ल्वाङेका बाबु सिकिस्त भए उनी ओछ्यानमा छटपटाइरहेका थिए । छोरा ! ए छोरा ! भन्दा भन्दै उनको प्राणपखेरु उडेर गयो । ल्वाङे बाबुको कोठामा पस्यो, बाबुको मुठी कस्सीएको थियो । 
    मुठ्ठीमा के रहेछ । भनेर उसलाई खुल्दुली भयो । घर परिवार सबै भेला भए तर ल्वाङेको ध्यान मुठ्ठी तर्फ केन्द्रित थियो । मरेको बाबुलाई अङ्कमाल गर्दै मुठ्ठी खुस्काउन थाल्यो । मुठ्ठी भित्र  राखिएको रहेछ सानो कागजको टुकडा । थपक्क आफ्नो गोजीमा राख्यो । आफ्नो बाबुको सतगत सकेर उ कोठा भित्र पस्यो । कागजको टुक्रा भित्र लेखिएको थियो । “बरु भोकै मर्नु ऋण नखानु” । ल्वाङेलाई मरेका बाबुसँग रिस उठेर आयो के के न लेखेको रहेछ भनेको त वकमफुसे कुरा लेखेर पो मरेछन् थुक्क । सन्दर्भ यत्ति कै हो !

    अब नेपाल तर्फ लागौं के के न गर्छु भनेर ठूला बाटो घाटो, हवाई जहाज बस्ने  अन्तर्राष्ट्रिय विमानस्थल, खेप्नै नसक्ने ऋणको भार लिने धिक्कार नेपाल सरकार भन्दै अस्ति एकजना विद्वान  टिभीमा कुर्लदै थिए । नेताहरुसँग अकुत सम्पति देशको चाँही दुर्गति । त्यति टाढा जानै पर्दैन किन र कुन प्रयोजनको लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थल बनाइयो ? त्यो पनि खर्रलप्प ऋण खाएर ..।
    विमानस्थल भएपछि विचरा व्यापारीहरु पनि हौसिए, डलर कमाउने लोभमा ऋण रुपी तरमा चुर्लुम्म डुबे । गौतमबुद्धको नाममा ऋण्को डोको भित्र कमिसनको पोको खाने नेताहरु नै देशका हर्ताकर्ता र जनता मारा काम गरिरहेका छन् । “सानो तर सुन्दर” बनाउको  सूत्र चाँही नेपालमा लागू गर्न उपयुक्त हुन्छ भन्दै थिए एकजना बुजुर्ग अर्थशास्त्री  । 
    “अब के हुन्छ ?” एक जना व्यापारीले कुनै पार्टीको झोले तर दरो नेतारुपी तुरुपलाई सोद्धै थिए ।

    नआत्तिनुहोस अब सबै राम्रो हुन्छ, नयाँ नयाँ मन्त्री भएका छन्, युवा छन्, जोश छ , जाँगर छ, हिम्मत छ ,व्यापारीलाई जवाफ दिए । व्यापारीले अचम्म मान्यो ‘कसरी संभव हुन्छ ?’ निरासावादी हुनु हुँदैन आस गर्नु होस्, आलोपालो सरकार चलेपछि आलोपालो ऋण आउँछ आलो पालो खाने हो । देश बनाउने हो, नेता बनाउने हो । 

    “जोश छ, जाँगर छ भनेर  टाउको ढुँगामा ठोक्काएर हुन्छ, जसको विरुद्ध देशलाई ऋण मुक्त गर्ने हो उसैको चाकरी गरेर हुन्छ ?”

    “ल है ! यसको जवाफ म पछि दिउँला ऐले म हिंडे” भन्दै नेता हिंडिहाले । 

    “ऋण लिएर ठूला ठूला आयोजनाहरु निर्माण गर्नु हाम्रो प्राथमिकतामा पर्दैन, ऋणको व्याजसम्म तिर्न नसक्ने भएपछि अझै कति खान्छौ ऋण ? नेपाली जनतालाई डुबाएर । एकजना युवाले आक्रोष पोख्तै थिए तररर ताली पडकिएकै हो ।

    “भ्रष्टाचारका एक एक नालीबेली जनता सामु ल्याउँछु, भ्रष्टचारीलाई समाप्त गर्न जे गर्ने गर्छु” भन्दै ठाडो औला पारेर जनता सामु कसम खानेहरु उही भ्रष्टचारीसँग कुममा कुम जोडदै चिल्ला कारमा झण्डा हल्लाउँदै सररर कुदेको देख्ता मुख ढाकेर तल नाङ्गै हुन मन लाग्छ भनेर चितवनका जनता भन्दै थिए । 

    images
    images
    प्रकाशित मिति :माघ ६, २०७९ शुक्रवार - ११:५७:४२ बजे

    उमेशचन्द्र रिजाल

    सह प्राध्यापक उमेश चन्द्र रिजाल खबरपात्रो डट कमका स्तम्बकार हुन् ।


    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend