
सोमवार , माघ २, २०७९
भैरहवा, २ माघ ।
लुम्बिनीमा १ करोड बढी मूल्य बराबरको विदेशी मुद्रा सटही नहुँदा रद्दीझै थन्किएको छ । लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा राखिएका विभिन्न दान पेटिकामा विदेशी मुद्राहरु संकलन हुने गरेको छ, संकलित ती मुद्राहरुमध्ये विनिमय नहुने विदेशी मुद्रा सटही हुन नसक्दा वर्षौंदेखि पोको पारेर राखिएको हो । करोडौ मुल्य बराबरको ती मुद्राहरु प्रयोग नभएकोले मूल्य अनुसार नभई रद्दी सरह भएको छ ।
लुम्बिनी विकास कोषले दान पेटिकामा रहेको चलनचलतीका मुद्राहरु सटही गरे पनि नेपाल राष्ट्र बैंकले चल्नचल्तीमा नरहेका नोटहरु सटही नगर्ने भएकोले सटही नभएका ३९ देशका मुद्राहरु विकास कोषले संचित गरेर राखेको छ । विभिन्न देशका ती मुद्राहरु नेपाली १ करोड १७ लाख ९५ हजार ९ सय ६६ रुपैयाँ बराबर रहेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धीचरण भट्टराईले जानकारी दिए ।
दान पेटिकाबाट संकलित रुपैयाँमध्ये सबै भन्दा बढी म्यानमारको ७३ लाख ४८ हजार १ सय ५८ नेपाली रुपैयाँ रहेको छ । त्यस्तै ओमनको १७ लाख ७९ हजार, श्रीलंकाको ८ लाख १ हजार, पेरुको ६ लाख ५१ हजार, भियतनामको ४ लाख ९८ हजार, इन्डोनेसियाको २ लाख ७० हजार, कम्बोडियाको १ लाख ९० हजार नेपाली रुपैयाँ बराबरको रहेको छ । यीबाहेक भुटान, मंगोलया, बंगालदेश, लाओस, पाकिस्तान, अजेन्टिना, अफगानिस्तान, मोरिसस, युगान्डा, इरानी, इराक, स्वस्डेन रसिया लगायतका मुद्राहरु पनि संकलन भएका छन् ।
त्यस्तै अन्य विभिन्न देशका संकलित मुद्राहरु पनि नेपाल राष्ट्र बैंकले चल्नचल्तीमा नरहेको र साट्न समेत असहयोगका कारण सटही नहुँदा ती मुद्रा संचिती गरेर राखिएको विकास कोषले जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकमा सटही गर्ने व्यवस्था नभए पनि हरेक पटक दान पेटिकामा भएका मुद्रा गणना गर्ने गरिएको छ । आर्थिक वर्ष २०७१–०७२ देखि पुस ७ गते २०७९ सम्ममा यी ३९ देशका मुद्राहरु संकलन भए पनि तत्काल सटही नहुने भएकोले छुट्याएर राखिएको छ ।
‘संकलित मुद्रामध्ये राष्ट्र बैंकले खरिद–विक्री गर्ने मुलुकको सटही हुने मुद्रा रकम तत्काल लुम्बिनी विकास कोषको कारोबार हुने बैंकमा पठाइने गरिएको छ, सटही नहुने रकमको विवरण र अभिलेख बनाइराख्ने गरिएको छ, ’कोषका कोषाध्यक्ष भट्टराईले भने । संकलित मुद्राहरु लामो समय सटही नहुँदा कतिपय कुहिने अवस्थामा पुगेका छन् ।
सटही नहुने मुद्राको विनिमय नेपाल राष्ट्र बैंकमार्फत मात्रै हुने सम्भावना रहेकोले कोषले बारम्बार पत्राचार गर्ने गरेको छ । राष्ट्र बैंकले चासो नदिएको कारण वर्षौदेखि ती मुद्राहरु संचिती गरेर राख्ने गरिएको छ । अर्थ मन्त्रालयमा पनि भेटीको रकम विनिमयका लागि सहकार्य र प्रयत्न गरिरहेको कोषको भनाइ छ । विकास कोषले मोनाष्ट्रीहरुसँग समन्वय र सहकार्य गरेर साट्न सकिने बैकल्पिक व्यवस्था निकाले पनि सरकार, मोनाष्ट्री र राष्ट्र बैंक साक्षी बसेर मात्रै यो सम्भव हुने देखिन्छ । लुम्बिनी विकास कोषले भेटी वापत उठ्ने रकमबाट करारका कर्मचारीहरुलाई तलब र अन्य व्यवस्थापनको काममा खर्च गर्दै आएकोे छ ।
नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय सिद्धार्थनगरका अनुसार लुम्बिनी विकास कोषको अनुरोधमा राष्ट्र बैकमार्फत विदेशी मुद्रा कलेक्शनको लागि पठाउने व्यवस्था छ । सैद्वान्तिक रुपमा कलेक्शन गरी साट्ने व्यवस्था छ, कोभिड अगाडि सटिए पनि पछिल्लो २–३ वर्ष देखि पत्राचार नभएको बैंकको भनाइ छ । राष्ट्र बैकको बैंकिङ विभागमा लुम्बिनी विकास कोषले प्रक्रियागत रुपमा पहल गरे पनि साट्न मिल्ने नोटहरु साट्न सकिन्छ ।
सहायक निर्देशक रमेश न्यौपानेले साट्न मिल्ने मुद्राहरु यही साटे पनि चलनचल्ती बाहेकका मुद्राहरु नोटहरु काठमाण्डौ पठाएर कलेक्शनका लागि पठाउन सकिने बताए । यो देशको यो यो दरको नोटहरु यो नम्बरको छ भनी विस्तृत खुलाएर राष्ट्र बैंकलाई अनुरोध गरे आफूहरुले पहल गरिदिने बताए । आफूहरुले सटही गर्न नसके पनि मुद्रा सटहीको लागि केन्द्रमा अनुरोध गर्ने उनले बताए । ‘विदेशी मुद्रा कलेक्शन गरेर नोटहरु सम्बन्धित ठाउँमा पठाउने हुन्छ सबै साटिन्छ भन्ने पनि हँुदैन त्यसको मापदण्ड अनुसार नोटको हकमा सटिने व्यवस्था भए पनि सिक्काहरु भने सटही हुँदैन, ’उनले भने । न्युज कारखाना
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij